News Portal

  • बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्न जोड

    आर्थीकसंसार संवाददाता२३ माघ, २०८०
    ७७ पटक
    २३ माघ, २०८०

    काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

    उनले सबै सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता आउनु आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै, उनले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको समेत जानकारी दिए ।

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यस सम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमा सम्बन्धी तथ्याङ्कको विश्लेषण आवश्यक भएको बताए । उनले नागरिकलाई गरीबीको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुनसक्ने उल्लेख गर्दै हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण, शुद्धता र एकरूपताका लागि सम्बद्ध सबै निकायहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

    अध्यक्ष सिलवालले राष्ट्रिय तथ्याङ्क लगायत अन्य निकायबाट सङ्कलन हुने तथ्याङ्कलाई एकीकृत गरी आदान प्रदान गर्ने संयन्त्रको आवश्यकता औंल्याउँदै यसबाट सरकार र प्राधिकरणको नीति निर्माण, कार्ययोजना तर्जूमा र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

    त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृत रूपमा समावेश गर्ने जानकारी दिए ।

    नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सम्बन्धी तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझ व्यवस्थित गर्नका लागि प्राधिकरणलाई सम्वद्ध निकायहरूको साथ र सहयोग आवश्यक रहेको बताए ।

    नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय सम्बन्धी प्रस्तुती गर्नुहुँदै राष्ट्रिय जनगणना गर्दा बीमा सम्बन्धी प्रश्नावली पनि समावेश गर्नुपर्ने र राष्ट्रिय तथ्याङ्क प्रणाली तथा राष्ट्रिय लेखा प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्क पनि समावेश हुनुपर्ने आवश्यकता औंल्याए ।

    प्राधिकरणले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले मंगलबार उक्त कार्यक्रम आयोजना गरेको हो ।

    प्रतिकृया दिनुहोस्