News Portal

  • हिमालयन रिइन्स्योरेन्सको शेयर आयो डिम्याट खातामा, यही साता सूचीकृत हुने

    आर्थीकसंसार संवाददाता१८ पुष, २०८०
    १२७ पटक
    १८ पुष, २०८०

    काठमाडौं । हालै प्रिमियममा आइपीओ बिक्री गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर शेयरधनीहरुको डिम्याट खातामा आएको छ। यो कम्पनीको शेयर कारोबार संकेत ‘एचआरएल’मा सूचीकृत भएको हो।

    कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल नेप्सेमा पठाइसकेको छ। सम्भवतः यही साताभित्र हिमालयन रिको आइपीओ नेप्सेमा सूचीकृत हुने क्यापिटलका एक अधिकारीले जानकारी दिए।

    हिमालयन रिको आइपीओ गत बुधबार (पुस ११ गते) बाँडफाँड गरिएको थियो। यो आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन सदर भएको थियो। तीमध्ये १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनले मागबमोजिम नै शेयर पाएका थिए। गोलाप्रथाबाट भाग्यमानी २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका थिए।

    कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ।

    कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो। बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई बिक्री गरेको थियो।

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो।

    कम्पनीको आर्थिक वर्ष २०७८÷७९ सम्मको प्रतिशेयर नेट्वर्थ १०३.०७ रुपैयाँ रहेको छ। यस हिसाबले कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने सम्भावना छ।

    प्रतिकृया दिनुहोस्