News Portal

  • एनबी बैंकको खुद नाफामा बृद्धि

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    १८६७ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार एनबी बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको पाइएको छ ।
    एनबी बैंकले पहिलो तीन महिनामा ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ८६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । प्रतिशतका आधारमा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.९ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा भने ५ करोड ८९ लाख रुपैयाँ छ ।
    बैंकको खुद व्याज आम्दानी भने गत वर्षकोभन्दा घटेको छ । बैंकको खुद व्याज आम्दानी ५ करोड ५६ लाख रुपैयाँ घटेर ६९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ । कुल ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ३० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड र रिटेन्ड अर्निङ्गमा ७१ करोड ४१ लाख रुपैयाँ थियो ।
    बैंकको निक्षेप ६८ अर्ब ५५ करोड रुपैयाँ छ भने कर्जा ५९ अर्ब ४४ करोड रुपैयाँ छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ रुपैयाँ ९१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.०३ गुणा रहेको छ । त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.९७ प्रतिशतबाट बढेर २.३९ प्रतिशत पुगेको छ भने आधार दर ९.८७ प्रतिशतबाट घटेर ८.१३ प्रतिशत कायम भएको छ ।

    प्रतिकृया दिनुहोस्