काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले बैंकको ८ प्रतिशत नगद र १ प्रतिशत बोनस गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता रहेको बताएका छन् । उनले बैंकको ७७ जिल्लाहरुमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए ।
बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । कुल नाफामा सरकारलाई तिरेको करपछिको नाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ रहेको अध्यक्ष ढकालले बताए ।
गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब र ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको छ । अध्यक्ष ढकालका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब र कर्जा ३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । अध्यक्ष ढकालले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको समेत बताएका छन् ।
यसैगरी, उक्त साधारणसभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना संचालकको निर्वाचन गरेको छ । संस्थापक सेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।
आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
बैंकले देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।