News Portal

  • नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८०
    १४३ पटक
    २१ मंसिर, २०८०

    काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो ।

    नेप्सेका अनुसार बिहीबार कम्पनीको २९ लाख ७९ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा ८६ करोड ५९ लाख ५३ हजार २ सय रुपैयाँबराबरको कारोबार भएको हो ।

    स्रोतका अनुसार नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बिहीबार नेप्सेमा कारोबार भएको हो ।

    पछिल्लो समय विभिन्न तीन वटा कम्पनीले नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री गरिरहेका छन् । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र विशाल ग्रुपले कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका थिए । जसमध्ये नेपाल इन्स्योरेन्स र विशाल ग्रुपको सेयर पूर्ण रुपमा बिक्री भएको बुझिएको छ ।

    स्रोतका अनुसार नेपाल इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । हिमालयन लाइफले कम्पनीको १९ लाख ७९ हजार २४२ कित्ता सेयर खरिद गरेको हो । उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले खरिद गरेको हिमालयन लाइफ स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त सेयर कम्पनीले ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको हो ।

    विशाल ग्रुपले भने प्रतिकित्ता ३० रुपैयाँसम्म कम मूल्यमा सेयर बिक्री गरेको छ । विशाल ग्रुपले बिक्रीमा राखेको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतले बताएको छ । विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो ।

    विशाल ग्रुपले बिक्रीमा राखेको संस्थापक सेयर छुट्टाछुट्टै मूल्यमा बिक्री भएको छ । नेप्सेका अनुसार प्रतिकित्ता २८० रुपैयाँका दरले २ लाख ७५ हजार ४५० कित्ता, प्रतिकित्ता २७८ रुपैयाँमा ५ लाख कित्ता र प्रतिकित्ता २७० रुपैयाँमा २ लाख २४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएको हो ।

    विशाल ग्रुपले प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गर्दा ७ करोड ७१ लाख २६ हजार रुपैयाँ, प्रतिकित्ता २७८ रुपैयाँमा बिक्री गर्दा १३ करोड ३९ लाख ९० लाख रुपैयाँ र प्रतिकित्ता २७० रुपैयाँमा बिक्री गर्दा ६ करोड ६ लाख २८ हजार ५ सय रुपैयाँ असुल गरेको छ ।

    यस आधारमा ग्रुपले कम्पनीको सेयर बिक्रीबापत् २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँ संकलन गरेको हो ।

    विशाल ग्रुपले पहिलो पटक प्रतिकित्ता ३३५ रुपैयाँमा १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, सो मूल्यमा कुनै पनि लगानीकर्ताले सेयर खरिद गर्न तयार नभएपछि प्रतिकित्ता २७० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको थियो ।

    प्रतिकृया दिनुहोस्