News Portal

  • नेपाल लाइफ क्यापिटलद्वारा मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८०
    १८६ पटक
    २३ असोज, २०८०

    काठमाडौं । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मिति २०८०÷०६÷१९ गते दिउँसो ३ बजेदेखि ६ बजेसम्म मसला, कटेज– जनकपुरधाम, जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरुको सहभागिता थियो ।
    नेपाल धितोपत्र बोर्डका निर्देशक श्री हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पार्नु भएको थियो । उहाँले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पु¥याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिनुभयो।
    त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले “लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा प्रस्तुतिकरण गर्नुभयो । उहाँले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिनुभयो । उहाँले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिनुभयो। कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र पनि भएको थियो ।
    नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक–एक गरी सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसबाहेक, उहाँले सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी प्रदान गर्नुभयो । सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो । करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्ने बारे जानकारी नरहेको पाईयो । प्रस्तुतीकरण र प्रश्न उत्तर सत्रपछि अतिथिहरूले मन्तव्य समेत दिनुभएको थियो ।

    प्रतिकृया दिनुहोस्