News Portal

  • राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    २४३ पटक
    ८ असोज, २०८०

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा –६ गणेश चोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्घाटन गर्नुभएको हो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि एवं माननीय मुख्यमन्त्री सरोजकुमार यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले रा.वा.बैंकसँग सहकार्य गर्ने बताउँदै बैंकमार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले रा.वा. बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै ब्यवसायीहरुलाई रा.वा.बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले विपन्न वर्गको सशक्तिकरणका लागि बिना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिने बताउनुभयो । उहाँले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताउनुभयो ।
    बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा ब्रान्च अपरेशन विभागका प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा माननीय संघीय सांसदहरु रामशंकर यादब, गंगाप्रसाद यादब तथा माननीय प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पीओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरुसमेत सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्