News Portal

  • बैंकहरुले निजी क्षेत्रको मनोबल बढाउन ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री महत

    आर्थीकसंसार संवाददाता४ असोज, २०८०
    १७२ पटक
    ४ असोज, २०८०

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन् । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

    उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए । अर्थमन्त्री महतले बैंकहरुले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्ट जनाए । अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरुले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गर्दै उनले पछिल्लो समय बैंकहरुलाई लगानी नगर भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताए । अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी रहेको बताए ।

    निजी क्षेत्र अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने उनको भनाई छ । उनले बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरुले ब्याज बढाउनु राम्रो नभएको बताए । उनले सरकारी बैंकहरु ब्याजदर घटाएको भन्दै अन्य बैंकहरुले पनि ब्याजदर घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । निक्षेप तथा कर्जा सुुरक्षण कोषले निक्षेपकर्ताहरुको लगानी जोखिमलाई न्युनिकरण गर्नसके मात्रै निक्षेप बढ्नसक्ने बताउँदै उनले साना–साना वचत कर्जा र उद्यमहरुको विकास गर्नसके मात्रै अर्थतन्त्र माथि जान सक्ने बताए ।

    त्यस्तै, बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मुलुक अर्थतन्त्रलाई सपोर्ट गर्ने कर्जालाई प्राथमिकता दिनु पर्ने बताए । बैंकको कर्जा दिगो विकासको लागि ग्यारण्टी गर्नसके मुलुकको अर्थतन्त्रमा सुधार आउने बताउँदै उनले त्यसबाट बैकहरुलाई पनि राम्रो हुने अवस्था रहेको जानकारी गराए ।

    उनले भदौ महिनामा बैंकहरुबाट करिव ४१ अर्ब रुपैयाँ कर्जा बिस्तार भएको बताए । उनले गत वर्षको भदौ महिनाको भन्दा यो वर्ष राम्रो सुधार भएको बताए । मुलुकको वित्तीय परिसूचकहरु प्रायः सबै राम्रो रहेको बताउँदै उनले बैंकको कर्जाको ब्याजदर पनि १३ प्रतिशतबाट १२ प्रतिशतमा आएको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्