News Portal

  • सिविफिनबाट बाहिरिए महानिर्देशक तिवारी, डेपुटी डीजीका लागि ४५ जनाको आवेदन

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८०
    १५२ पटक
    १९ भदौ, २०८०

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिविफिन) बाट महानिर्देशक डा. गोपाल तिवारी बाहिरिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सिविफिनबाट आज बाहिरिएका हुन् । एक महिना अगाडि नै महानिर्देशकबाट राजीनामा दिएका उनले मंगलबार औपचारिक रुपमा संस्थाबाट बाहिरिएका हुन् । यो अवधिमा उनी विदामा थिए ।

    वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संस्था सिविफिनको महानिर्देशकका रुपमा ४ वर्षका लागि नियुक्त भएका उनी कार्यकाल नसकिँदै बाहिरिएका हुन् । २०७६ साल माघमा नियुक्त भएका उनी कार्यकाल सकिन पाँच महिना बाँकी हुँदै सिविफिन छोडेका हुन् ।

    उनी बाहिरिएसँगै सिविफिनले नयाँ नायब महानिर्देशकका लागि पनि आवेदन माग गरेको  छ । जसमा ४५ जनाले आवेदन दिएको बुझिएको छ । नायव महानिर्देशक छनोटका लागि सिविफिनका कार्यसमिति सदस्य उपेन्द्र पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

    कार्यदलले आवेदकहरुबाट सर्ट लिस्टिङ गरेर कार्यसमितिमा पेश गर्ने र कार्यसमितिले एक जनालाई नायव महानिर्देशकमा नियुक्त गर्ने सिविफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बताए ।

    शाहका अनुसार बिहीबार बस्ने कार्यसमितिको बैठकले नायव महानिर्देशक छनोट गर्नेछ । छनोट भएको नायव महानिर्देशकलाई नै केही समयपछि महानिर्देशकमा नियुक्त गर्ने तयारी सिविफिनको छ ।

    नायव महानिर्देशक बन्नका लागि तीन/चार वटा बैंकमा कार्यरत उच्च व्यवस्थापकहरुले पनि आवेदन दिएको बुुझिएको छ । तर, आवेदकको नाम भने संस्थाले गोप्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्