काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको “आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच सम्पन्न भएको हो ।
कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनिले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्दछ । उपरोक्त कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु-याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिने बताए ।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैंटौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला ६ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई. लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए ।
यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए । हालै मात्र जनसाधारणको लागि शेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिर्कत फुयालले खुशी ब्यक्त गरे ।
आर्थिक वर्ष २०७९८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशकहरु दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाल लगायतले अवार्ड वितरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, कोशी प्रदेश प्रमुख मिलन दाहाल लगायतका व्यक्तिहरुले कम्पनी, मुलुक र समाजमा अभिकर्ताका भुमिकाका बारेमा प्रकाश पारे ।