News Portal

  • सबैभन्दा बढी कर तिर्ने बैंकको ताज ग्लोबल आइएमईलाई, अनुभवी बैंकर बज्राचार्यको टीमलाई सफलता

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८०
    २१२ पटक
    २७ साउन, २०८०

    काठमाडौं । सरकारलाई सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ । गत आर्थिक वर्ष २०८९/८० मा सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंक ग्लोबल आइएमई बनेको हो ।
    अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर तिरेको हो । यसअघि अन्य बैंक उत्कृष्ट कर तिर्ने बैंक बनेपनि गत वर्ष भने त्यो ताज ग्लोबलले प्राप्त गरेको हो ।
    बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक बनेको छ । अन्य धेरै सूचकमा यो बैंक अगाडि देखिएको छ ।
    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् । नेपाली बैंकिङमा बज्राचार्य अनुभवी बैंकरका रुपमा परिचित छन् । सीईओ बज्राचार्यसहित उनको नेतृत्वको टीमलाई यो एउटा सफलता पनि हो ।
    बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण पनि उत्कृष्ट देखिएको छ । बैंकले गत आवमा ४६.२६ प्रतिशत खुद नाफा बढाएर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।
    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५०.३३ प्रतिशत बढेर ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६४.३२ प्रतिशत बढेर २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको गत वर्ष निक्षेप ५३.९३ प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ३८.०९ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
    बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ छ । बैंकको कस्ट अफ फण्ड ८.१८ प्रतिशत, आधार दर १०.२ प्रतिशत, स्प्रेड दर ४.९६ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्