News Portal

  • मर्ज भएका बैंकबीच ‘नम्बर वान’ बन्ने संघर्ष, कुन सूचकमा कुन ठूलो ?

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८०
    २१४ पटक
    २४ साउन, २०८०

    काठमाडौं । पछिल्लो समय १४ वटा वाणिज्य बैंक मर्जर तथा एक्विजिशनमा सामेल भए । राष्ट्र बैंकको बिग मर्जर नीति अनुरुप १४ वटा बैंक मर्जर तथा एक्विजिशनमा सामेल भएर ७ वटा बैंक बने । २७ वटा बैंकको संख्याबाट २० वटा कायम भए ।

    साविक नेपाल बङ्गलादेश र नबिल (नबिल बैंक), नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी (कुमारी बैंक), ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (ग्लोबल आइएमई बैंक), सेञ्चुरी र प्रभु (प्रभु बैंक), मेगा र नेपाल इन्भेस्टमेन्ट (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल र हिमालयन (हिमालयन बैंक) र सनराइज र लक्ष्मी (लक्ष्मी सनराइज बैंक) मर्जर तथा एक्विजिशनमा सामेल भए ।

    साथै, मर्जरमा गएका सबै बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेपछि मर्जरमा गएका बैंकहरुमा तुलनात्मक विश्लेषण गर्न थालिएको छ । कुन बैंकले कस्तो प्रगति गरे भनेर सबैको चासोको विषय बनेको छ ।

    मर्जरपछि आफूलाई नम्बर वान बनाउने प्रयास पनि बैंकरहरुबीच भइरहेको छ । मर्जरमा सामेल भएका बैंकहरुले गत असारसम्म झण्डै साढे २९ अर्ब रुपैयाँ बराबर नाफा गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार ७ वटा बैंकहरुले २९ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । जसमध्ये नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा धेरै नाफा हो ।

    यस्तै, ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैंकले ४ अर्ब २९ करोड रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब २६ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ८२ करोड रुपैयाँ, लक्ष्मी सनराईज बैंकले २ अर्ब २६ करोड रुपैयाँ र कुमारी बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेका हुन् ।

    यस्तै, समीक्षा अवधिमा यी ७ बैंकले ८४ अर्ब ८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । नबिलले १७ अर्ब ९८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर अग्रस्थानमा छ । यस्तै, ग्लोबल आइएमईले १७ अर्ब ११ करोड रुपैयाँ, एनआईएमबिले १२ अर्ब २७ करोड रुपैयाँ, कुमारीले ११ अर्ब १ करोड रुपैयाँ, प्रभुले १० अर्ब २५ करोड रुपैयाँ, हिमालयनले ९ अर्ब ९३ करोड रुपैयाँ र लक्ष्मी सनराइजले ५ अर्ब ५० करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

    यस्तै, गत असारसम्म मर्जरमा सामेल भएका बैंकहरुको चुक्ता पूँजी १ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये ग्लोबल आइएमई र एनआईएमबि बैंकबीच पूँजी वृद्धिमा प्रतिस्पर्धा देखिन्छ । ग्लोबल आइएमईको ३६ अर्ब ७७ करोड रुपैयाँ छ भने एनआईएमबिको ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, नबिलको २७ अर्ब ५ करोड, कुमारीको २६ अर्ब २२ करोड, प्रभुको २३ अर्ब ५४ करोड, लक्ष्मी सनराइजको २१ अर्ब ६७ करोड र हिमालयनको २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

    समीक्षा अवधिमा यी ७ बैंकले १ खर्ब ८ अर्ब रुपैयाँ रकम जगेडा कोषमा जम्मा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिलले २७ अर्ब ७ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको देखिन्छ । यस्तै, एनआईएमबिले २३ अर्ब ८९ करोड, ग्लोबल आइएमईले १९ अर्ब ९५ करोड, हिमालयनले १४ अर्ब ९१ करोड, लक्ष्मी सनराइजले १४ अर्ब, कुमारीले ११ अर्ब ३७ करोड र प्रभुले १० अर्ब २ करोड रुपैयाँ जगेडा कोषमा राखेको तथ्याङ्क छ ।

    गत असारसम्म मर्ज भएका बैंकहरुले २३ खर्ब ५४ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमईले ४ खर्ब २६ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै, नबिलले ३ खर्ब ९६ अर्ब, एनआईएमबिले ३ खर्ब ५४ अर्ब, कुमारीले ३ खर्ब १६ अर्ब, लक्ष्मी सनराइजले २ खर्ब ९६ अर्ब, प्रभुले २ खर्ब ८९ अर्ब र हिमालयनले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

    यस्तै, गत असारसम्म १९ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । ग्लोबल आइएमईले ३ खर्ब ५६ अर्ब, नबिलले ३ खर्ब ३२ अर्ब, एनआईएमबिले ३ खर्ब ३ अर्ब, कुमारीले २ खर्ब ७० अर्ब, लक्ष्मी सनराइजले २ खर्ब ५३ अर्ब, प्रभुले २ खर्ब ३८ अर्ब र हिमालयनले २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

    प्रतिसेयर आम्दानी (ईपीएस) मा नबिलको २७.८२ रुपैयाँ, ग्लोबल आइएमईको २०.७७ रुपैयाँ, लक्ष्मी सनराइजको १९.४४ रुपैयाँ, हिमालयनको १९.१९ रुपैयाँ, एनआईएमबिको १६.०७ रुपैयाँ, प्रभुको १२ रुपैयाँ र कुमारीको ७.४६ रुपैयाँ छ ।

    मर्जरमा सामेल बैंकहरुले अधिकांश सूचकमा सकारात्मक फड्को मारे पनि लाभांश क्षमतामा भने कमजोर देखिएका छन् । गत असारसम्मको तथ्याङ्क अनुसार औषत ६.६ प्रतिशत मात्रै लाभांश क्षमता छ । वितरणयोग्य नाफा कम भएका कारण लाभांश क्षमतामा पनि ह्रास आएको हो ।

    गत वर्ष ४ वटा बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा छन् । जसमध्ये कुमारी बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । यस्तै, एनआईएमबि बैंकको ०.४६ प्रतिशत र प्रभु बैंकको ०.६९ प्रतिशत मात्रै लाभांश क्षमता छ । गत वर्ष नबिलको १४.६४ प्रतिशत, लक्ष्मी सनराइजको ८.९४ प्रतिशत र ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत लाभांश बाँड्ने क्षमता छ ।

    मर्ज भएका बैंकहरुको खराब कर्जा भने ह्वात्तै बढेको छ । समीक्षा अवधिमा औषत ३.५७ प्रतिशत खराब कर्जा पुगेको छ । जसमध्ये कुमारीको ४.७७ प्रतिशत, हिमालयनको ४.५७ प्रतिशत, एनआईएमबिको ४.३७ प्रतिशत, प्रभुको ४.१६ प्रतिशत, ग्लोबल आइएमईको ३.०८ प्रतिशत, लक्ष्मी सनराइजको २.८१ प्रतिशत र नबिलको १.२३ प्रतिशत खराब कर्जा पुगेको छ ।

    प्रतिकृया दिनुहोस्