News Portal

  • बीएन घर्तीको पुस्तक : ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा

    आर्थीकसंसार संवाददाता६ साउन, २०८०
    ३१८ पटक
    ६ साउन, २०८०
    काठमाडौं । देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ ।
    बैंकिङ क्षेत्रमा लामो समय काम गरेका यस विषयका जानकार बीएन घर्तीको यो पुस्तक बैंकिङ क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी हुन सक्छ । झन्डै तीन दशक बैंकिङ क्षेत्रमा काम गर्नुभएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख रचना पनि पुस्तकमा समावेश गरेका छन् ।
    बैंकमा कर्मचारीहरूलाई बिक्री लक्ष्यको भारी बोकाउने गरिएको हुन्छ र यसका कारण यस क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्दछ भनिएको छ । यसरी लक्ष्य दिँदाका फाइदा र बेफाइदा के हुन् रु पारिश्रमिक दिनेगरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण के हो ? बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुँदाको प्रभाव के कस्तो हुन्छ ? यी विषयहरु पनि सो पुस्तकमा समावेश छन् ।
    त्यसैगरी फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायतका सामग्रीहरु यसमा संलग्न छन् ।
    पूर्व बैंकर सशिन जोशीले पुस्तकको भूमिकामा वीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ क्षेत्रको एक ज्ञानबद्र्धक खजाना हो भन्नुभएको छ । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिकरुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकका लागि पुस्तक उपयोगी रहेको जोशीको टिप्पणी छ ।
    लेखक घर्तीले सो पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीमा केही न केही परिवर्तन आउने विश्वास राख्नुहुन्छ । पुस्तकमा व्यवस्थापन सङ्कायका विद्यार्थीका लागि पनि पाठ्यसामग्री समेटिएको छ । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन सङ्कायका प्राध्यापक प्रा डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सरल तरिकाले कुरा बुझाउन पुस्तक सहयोगी हुने बताए ।
    पुस्तकका बारेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले लेखक घर्ती आफैँ बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मको जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्ति भएकाले उनका अनुभव, अनुसन्धान र सिकाइ बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी हुने भएकाले यो पुस्तक मार्गदर्शक बन्ने बताउँछन् । बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (विआइएम) द्वारा प्रकाशित सो पुस्तक चार सय ४४ पृष्ठको छ ।
    प्रतिकृया दिनुहोस्