News Portal

  • सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

    आर्थीकसंसार संवाददाता२४ असार, २०८०
    १७६ पटक
    २४ असार, २०८०

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।
    स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।
    सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) केन्द्रित रहने बताए ।
    उनले प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताए ।
    सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल के.सी., डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेशन अफ कम्प्यूटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन (Business Summit) प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेकोले स्थानीय र प्रदेश सरकारहरुसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यवसायीक परियोजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।
    अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरुमा सुझाव पेश गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्ने गरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) भूमिका निर्वाह गर्नुपर्नेमा उनिहरुको जोड दिए ।
    नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्ष बिशाल गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेशसरकारबिच साझेदारी सम्झौता, भिडियो प्रर्दशनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धी, वित्तीय पँहुच र साक्षरता र बैंक तथा वित्तीय संस्थाहरुको प्रवद्र्धनलगायतका विषयमा अर्थपूर्ण छलफल र निष्कर्ष निकालिने जानकारी दिए ।
    सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नती सहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पुर्याउने गरी उच्चस्तरीय संजालको निर्माण गर्न व्यवसाय शिखर सम्मेलन (Business Summit) सफल हुने विश्वास व्यक्त गरे ।
    स्थानीय र प्रदेशस्तरमा उद्यमशीलता प्रवद्र्धनका लागि प्राथमिकता प्राप्त क्षेत्रको पहिचान, सो को  राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विद्यमान अवसर र बजार अवस्थाबारे तथ्यपरक प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदन कार्यान्वयनका लागि ३ तहकै सरकारसँग पहल गर्ने व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) को उद्देश्य रहेको छ ।
    समग्र उद्योगी/व्यवसायीले भोगिरहेका समस्या र त्यसको समाधानका सम्वन्धमा स्थानीय, प्रदेश र संघीय सरकारको उच्च नेतृत्वसँग संवाद गरी समाधानका लागि पहल गर्ने, सरकार र बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितिमा उद्यम दर्ता तथा परामर्श केन्द्र सञ्चालन गर्ने, वित्तीय संस्थाबाट उत्पादन/रोजगार/निर्यातमुलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सहजीकरण गर्ने, स्थानीयस्तरका उद्यमीहरुले उत्पादन गरेका नेपाली उत्पादनको प्रचारप्रसार र प्रवद्र्धनका लागि सहयोग पुर्याउने, र स्थानीय प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटको दिशानिर्देशबारे छलफल गरी प्राप्त सुझावहरु सम्बन्धित निकायहरुलाई पृष्ठपोषण गरिने छ ।
    स्थानीय, प्रदेश र संघीय सरकारसँग उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाबिचको दुरी कम र विश्वासनियतालाई प्रगाढ बनाउँदै सरकारले ल्याएको बजेट र कार्यक्रमलाई लगानीकर्ता/उद्यमीमैत्री बनाउन पहल गर्ने, हरेक स्थानीय तहमा वित्तीय संस्थाको पँहुच अभिवृद्धि, उत्पादनमुलक क्षेत्रमा लगानी प्रवद्र्धन, प्रदेशभित्र दिगो लगानीको वातावरण निमार्ण गर्न पहल गरिने छ ।
    दुई दर्जन भन्दा बढि सरोकारवाला संस्थाहरुको साझेदारिता रहने उक्त व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit)हरु आगामी आश्विन दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म ७ वटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढि वक्ता र करिव ३०० जना उद्यमी/व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने छ ।

    प्रतिकृया दिनुहोस्