News Portal

  • एनएमबी बैंकले वायोमास पेलेटमा कर्जा लगानी गर्ने

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १३४५ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्वारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रालिसँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड रूपैयाँ बराबरको कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।
    बकस रिन्युएबल ईनर्जी प्रालिलाई इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी)द्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सिजन प्राइभेट लिमिटेड (बीओटु)ले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा ५ करोड रुपैयाँ र बकस रिन्युएबल इनर्जी कम्पनीका प्रमोटरहरुद्वारा ५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । एनएमबी बैंकले प्रदान गर्ने १६ करोड रुपैयाँ बराबरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने र चालु पुँजीमा उपयोग गर्ने छ । यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ । बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जाजस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९ हजार ८२४ मेट्रिक टन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ ।
    सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडिहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ । वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडीजस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ । ‘यो हाम्रा लागि अत्यन्त उत्साहजनक लगानी हो । यसबाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुुक भित्र नै कोईलाको विकल्प तयार हुने छ ।’, बिजनेस अक्सिजन (बीओटु)का प्रमुख कार्यकारी अधिकृत सिद्धांतराज पाण्डेले भने । ‘यो परियोजना नेपालको लागि अत्यन्त्य सान्दर्भिक छ । यसले वन डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष ईन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरुलाई रोजगारी प्रदान गर्न यस प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने छ ।’, सो अवसरमा बकस रिन्युएवल ईनर्जीका अध्यक्ष सन्तोषमणि नेपालले बताए ।
    बकस रिन्युएवल ईनर्जी प्रालिका कार्यकारी निर्देशक कुवेरमणि नेपालले ‘इन्धनमा परनिर्भरता भएको हाम्रो देशले विगतमा भएका नाकाबन्दीका कारण नेपालीले जुन दुःख सहनु पर्यो त्यो अत्यन्तै दुःखदायी सम्झना छ र सोबाट पाठ सिक्दै नेपालले आफ्ना देशमा खेर गइरहेको वायोमास उपयोग गरी नविनतम प्रविधिको प्रयोगबाट वैकल्पिक ऊर्जा उत्पादन गर्नु आजको आवश्यकता भएको वताए ।’
    एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन गर्ने लक्ष्य भएको बीओटूको लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाउँदा अत्यन्त गौरवान्वित छौं । एनएमबि बैंक पार्टनरसिप फर कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको एशियाबाट प्रतिनिधित्व गर्दै निर्देशक समितिको सदस्य रहेको, गुणस्तरीय बैकिङसम्बन्धी ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्लूजको सदस्यसमेत भएको नाताले हाम्रो व्यवसायिक अवधारणामा नवीकरणीय ऊर्जाका परियोजनाहरू, साना तथा मझौला उद्योगहरु, कृषि व्यवसाय र पर्यावरणीय सुरक्षामा केन्द्रित परियोजनाहरू प्राथमिकता भित्र पर्ने गर्दछन् । यस्ता परियोजनाहरूले वास्तविक रुपमा समाजको तल्लो तहसम्म पुगि विपन्न वर्गको जीवन रुपान्तरण गर्ने छन् भन्ने अपेक्षाका साथ भविष्यमा पनि हामी यस्ता थुप्रै परियोजनाहरूमा लगानी गर्ने छौं भन्ने समेत विश्वास लिएका छौं ।’

    प्रतिकृया दिनुहोस्