News Portal

  • कृषि विकास बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १३१७ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । कृषि विकास बैंकले इन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
    खल्तीसँगको सम्झौतापछि बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्नेछन् । यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा बैंकले गरेको छ । ग्राहकहरूले डिजिटल बैंकिङमा अझ धेरै सुविधा पाउने बैंकले जनाएको छ ।
    सम्झौताअनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन् । सो बैंकका ग्राहकले ई–बैंकिंग, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउटजस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन् ।
    खल्ती सन् २०१७ जनवरीमा सुरू भएको नेपालको उदाउँदो मोबाइल भुक्तानी सेवा प्रदायक हो । यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिङ, चलचित्र टिकट बुकिङ, विभिन्न कार्यक्रमको टिकट बुकिङ, होटल बुकिङ, अखबारको ग्राहक शुल्क तिर्नेलगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल तिर्न सकिन्छ । खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्