News Portal

  • गभर्नर र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८०
    १८४ पटक
    २६ जेठ, २०८०

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ ।
    गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भयो । भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराए ।
    सो अवसरमा उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको धारणा राखे ।
    नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखे ।
    भेटका अवसरमा उनीहरूबीच मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको थियो । भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरू उपस्थित थिए ।
    यसै गरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्टेलकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फायलगायतका अधिकारीको उपस्थिति थियो ।

     

    प्रतिकृया दिनुहोस्