News Portal

  • अब कम्पनीलाई होइन व्यक्तिलाई कारवाही हुन्छ

    सूर्यप्रसाद सिलवाल१८ जेठ, २०८०
    ४४८ पटक
    १८ जेठ, २०८०

    बीमा कम्पनीमा अहिले भइरहेको वर्तमान पुँजीले बढ्दो जोखिमलाई नियन्त्रण गर्न सक्दैन भन्ने निर्क्यौलमा पुगेपछि हामीले पुँजी वृद्धिको कार्यक्रम ल्यायौं । त्यसको लागि कम्पनीहरुलाई समय दियौं । त्यो अवधिमा धेरै कम्पनीहरु स्वतस्फूर्त रुपमा मर्जर भए ।

    नियामकले के गर्नुपर्छ भन्नेमा नियामक प्रष्ट छ । बीमाको बजारलाई एउटा उद्योगको रुपमा विस्तार गरेर कसरी विश्वसनीय बनाउन सक्छौं, त्यो ठूलो चुनौति हो । जबसम्म हामीले बीमाको बजारलाई विश्वसनीय बनाउँदैनौं, तबसम्म बीमाको बजारले गति लिन सक्दैन ।

    पहिला बजार विश्वसनीय हुनुपर्यो । त्यो कसरी हुन्छ ? तपाईंले जुन हातले पोलिसी काट्नु भयो, र त्यो पोलिसीको क्लेम पर्यो भने तत्काल त्यसको सेटलमेन्ट गर्नुपर्यो । गत वर्ष बीमा प्राधिकरणले क्लेम सेटलमेन्टमा कडाई गरेसँगै अघिल्ला वर्षभन्दा गत वर्ष दावी भुक्तानी राम्रो भएको छ । त्यो क्रम यो वर्ष पनि जाने छ ।

    हामी कहाँ वर्षभरिमा १५० वटा उजुरी पर्छन् । लाखौंको क्लेम सेटलमेन्ट हुन्छ । तर १५० को पछि लागेर हामीले हाम्रो मार्केटलाई एक्स्पोज नै गर्न सकेनौं । त्यसैले मैले कम्पनीका सीईओ, अध्यक्षलाई बोलाएर प्रत्येक तीन तीन महिनामा सार्वजनिक हुने वित्तीय विवरणमा यति यति क्लेम सेटलमेन्टको रिपोर्ट गर्यौं भन्ने आएपछि बजारमा एकाएक विश्वसनीयता छाउँछ । मेरो पालामा थप लाइसेन्स आउँदैन ।

    जबसम्म हामीसँग शुशासन छैन तबसम्म हामीसँग पारदर्शीता छैन । पारदर्शीता छैन भने हामीले बदमासी गरेका छौं । बीमा प्राधिकरणमा मै आएपछि करिब १५ वटा कम्पनी कारवाहीमा परिसके । त्यो क्रम अहिले पनि जारी छ । उधारो बीमा रोक्यौं, तर क्यास ब्याक रोकिएको छैन । तोकिएको रेटमा पनि रेट घटाएर बीमा हुन्छ । त्यसकारण अब कारवाही कम्पनीलाई किन गर्ने भन्नेमा हामी पुगेका छौं ।

    जब हामीले कुनै व्यक्तिलाई कम्पनी अथ्योरिटी दियौं, उसले हेर्नुपर्ने । उसको बिजनेसमा पर्नुपर्ने विषयमा कम्पनी किन सफर गर्ने ? त्यसैले त्यो व्यक्ति जिम्मेवार हो । कम्पनीको सीईओ जिम्मेवार हो । कम्पनीको अण्डरराइटिङ्गमा बस्ने जिम्मेवार हो । रेट फेर्ने मान्छे जिम्मेवार हो, जो जो छ त्यो जिम्मेवार हो । अब कारबाही त्यहाँबाट शुरु हुन्छ, कम्पनीलाई होइन । के भयो त दुई लाख रुपैयाँ तिर्ने त हो भन्ने विषय पनि उठिरहेको छ । यो अति भयो ।

    कम्पनीमा कुनै कर्मचारी जुन उद्देश्यको लागि राखिएको हो, त्यो व्यक्तिले नियम विपरित काम गरेपछि, बदमासी गरेपछि त्यसको सजाय उक्त व्यक्तिले पाउनु पर्छ । त्यसको स्पष्टिकरण उसले दिनुपर्छ । कम्पनीले होइन ।

    म यहि फोरमबाट सीईओहरुलाई के भन्छु भने । नीति निमार्ण गर्ने बोर्डसँग बारम्बार अन्तर्क्रिया गरेको पाइन । प्राधिकरणले जारी गरेको प्रत्येक निर्देशिका, प्रत्येक निर्देशन बोर्डलाई जानकारी दिनुपर्छ, बोर्डसँग सामूहिक रुपमा बसेर छलफल गर्नुपर्छ भनेका छौं । तर त्यो लागू भएको जस्तो मलाई लाग्दैन ।

    तपाईंले असीमित जोखिम उठाउनु भएको छ । तपाईंसँग सीमित पैसा छ । सीमित पैसामा पनि तपाईंले यति रेट काटेर बिजनेस गर्नुभएको छ, जसको पुनर्बीमा हुन सक्दैन । पैसा कहाँबाट आउँछ । क्लेम कसरी तिर्ने ? र, यस्ता खालका बेथितिलाई रोक्नुपर्छ । जुन आजको आजै, भोलिको भोलि हुने पनि हुँदैन । मलाई लाग्छ, गत वर्षभन्दा यो वर्ष हामीले कमजोरीहरुको निरीक्षण धेरै बढाएका छौं । अहिले हामीले मर्जरमा जाने कम्पनीको लागि केही आँखा चिम्लेका छौं ।

    कम्पनीको लक्ष्य पुरा गराउने ठूलो हात कर्मचारीको हुन्छ । त्यसैले कर्मचारीको क्षमता अभिवृद्धि गराउनु पर्यो, जिम्मेवारी बनाउनु पर्यो, स्कील्स डेभलप गराउनु पर्यो ।  अब डिजिटल प्लेटफर्ममा जानुपर्यो । आजको दिनमा हामी २३० बढी स्थानीय तहमा पुगिसकेका छौं । त्यसैले अबको दिनमा बीमाको बारेमा थाहा छैन भनेर कसैले भन्दैन । पछिल्लो समय बीमामा विश्वसनीयता बढ्दै गएको छ, यसलाई थप बढाउँदै जानुपर्छ ।

    (नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले काठमार्डाैंमा आयोजित एक कार्यक्रममा राखेका मन्तव्यको सम्पादित अंश)

    प्रतिकृया दिनुहोस्