काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिरहेका छन् । साथै, नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा जाने कर्जामा कडाई गरेपछि कारोबार सुस्ताएको उनीहरुको तर्क छ ।
मन्दीकै बीच बैंकहरुले फागुन मसान्तसम्म २ खर्ब रुपैयाँभन्दा बढी घर कर्जा प्रवाह गरेका छन् । तरलता क्रमशः सहज हुने अपेक्षासहित बैंकहरु घरकर्जा प्रवाह गर्ने योजनाहरु सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जालाई उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ब्याजदरका कर्जा योजना अगाडि सारेका छन् ।
केही महिना अघिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जाप्रवाह गर्दा १५ प्रतिशतसम्म ब्याज लिइरहेका थिए । तर, सिद्धार्थ बैंकले भने आधार दर सरह नै ब्याजमा घर कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले ‘सिद्धार्थ हाम्रो घर कर्जा’ नामक योजना मार्फत ११.७५ प्रतिशतमै कर्जा प्रवाह गरिरहेको बताएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । आवासीय घर किन्न, भइरहेको घरमा तला थप्न वा रिनोभेट गर्न, हाल भइरहेको जग्गामा घर बनाउन, अपार्टमेन्ट किन्नका लागि बैंकले सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिने भएको छ ।
बैंकहरुले हाल कर्जामा अधिकतम १५ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । तथ्याङ्क अनुसार अधिकांश बैंकहरुको घरकर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि रहेको छ । तर, सिद्धार्थ बैंकले भने ११.७५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ ।
बैंकका अनुसार सिद्धार्थ हाम्रो घर कर्जामा २ प्रकारले ब्याजदर निर्धारण गरिनेछ । ग्राहकको इच्छा अनुरुप फिक्स्ड रेट (निश्चित व्याजदर) र फ्लोटिङ रेट (परिवर्तनशिल ब्याजदर)का आधारमा कर्जा उपलब्ध हुनेछ । फिक्स्ड ब्याजदरमा ११.७५ प्रतिशत तोकिएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । यस्तो कर्जामा ८४ महिनासम्म बैंकलाई बुझाउनु पर्ने किस्ता रकम समान हुनेछ ।
फ्लोटिङ रेटमा भने बजारको अवस्था अनुसार कर्जाको ब्याजदर घट्बढ हुन सक्नेछ । यस्तो कर्जाको मासिक किस्ता रकम पनि परिवर्तनशिल हुनेछ । बजारको अवस्था हेरेर आधारदर परिवर्तन भएपछि कर्जाको दर पनि निर्धारण गरिने बैंकले जनाएको छ । सो तरिकाबाट कर्जा लिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडिने बैंकले जनाएको छ ।
बैंकहरुले धितोको आधारमा कर्जा प्रवाह गर्छन् । सिद्धार्थ बैंकले बजार मूल्यका आधारमा धितोको मूल्याङ्कन गरी कर्जा उपलब्ध गराउनेछ । कर्जा सुरक्षणका रुपमा राखिएको धितोको मुल्याङकनकोे ६० प्रतिशत सम्म कर्जा उपलब्ध गराइने बैंकले बताएको छ । यदि कुनै ग्राहकले १ करोडको धितो बैंकमा राख्यो भने ६० लाख रुपैयाँ कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।
बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । बैंकले १८ वर्ष पूरा भएका र कर्जा अवधि पूरा हुँदा ८० वर्ष ननाघ्ने गरी सबैलाई कर्जा दिनेछ । निश्चित ब्याजदर योजना अन्र्तगत कर्जा लिने ग्राहकले ७ वर्षपछि परिवर्तित ब्याजदरमा किस्ता भुक्तानी गर्न सक्नेछन् ।
बैंकले कर्जा प्रवाह गर्दा सेवा शुल्क भनेर कर्जा रकमको ०.७५ प्रतिशत लिन्छ । त्यसका अतिरिक्त कर्जा सूचना केन्द्रले २५० देखि ५०० रुपैयाँसम्म शुल्क लिन्छ । धितो मूल्याङ्कन गर्ने इन्जिनियरिङ कन्सलटेन्सी, कर्जा तथा सम्पत्तिको बीमा शुल्क, सरकारको नियम अनुसार लाग्ने मालपोत कार्यालयको शुल्क अलग्गै लाग्छ ।
के के डकुमेन्ट चाहिन्छ ?
ग्राहकले उपलब्ध गराएको कागजपत्रहरुको आधारमा बैंकले कर्जा स्वीकृत गर्नेछ । यदि सबै प्रक्रिया पुर्याएको छ भने बैंकले कर्जा स्वीकृत गर्ने बताएको छ । कर्जा प्राप्त गर्न ग्राहकको बैंकले उपलब्ध गराउने आवेदन फारम भर्नुपर्नेछ । साथै, ग्राहकको नागरिकता, पासपोर्ट साइज फोटो, नाता जनाउने वा सम्बन्धन प्रमाणपत्रहरु, आम्दानीको स्रोतका कागजातहरू (बैंक स्टेटमेन्ट र कर क्लियरेन्स) उपलब्ध गर्नुपर्नेछ ।
साथै, धितो सुरक्षणका लागि कम्तिमा ८ फिट चौडाको सडक, जग्गाको तिरो तिरेका रसिद, सम्बन्धीत निकायबाट स्वीकृत भवनको नक्साको प्रमाणपत्र रहेको लालपुरर्जा उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । साथै, कर्जा लिन आएका जमानीकर्ताको रुपमा ब्यक्तिगत जमानीकर्ताका साक्षि पनि हुनु पर्नेछ ।