काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्याउनु रहेको बताएका छन् । प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।
‘पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ, जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुपर्यो, बीमा सेवा उपलब्ध गराउनुपर्यो र सेवा दीगो हुनुपर्यो, कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नुर्यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्यो,’ उनले भने ।
आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैबाट साथ सहयोग निरन्तर हुनु पर्ने उनको भनाए छ ।
काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । प्रभावतफेरी कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।