News Portal

  • सहयोगको याचना गर्दै निजी क्षेत्रसँग सरकार, सरकारसँग निजी क्षेत्र

    आर्थीकसंसार संवाददाता२८ चैत, २०७९
    २११ पटक
    २८ चैत, २०७९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा भागलिने देशभरका २ हजार भन्दा बढी उद्योगी व्यवसायी काठमाडौंमा जम्मा भएका छन् । उनीहरुको लागि महासंघको नयाँ नेतृत्व चयन गर्नु पहिलो काम हो भने बढ्दो आर्थिक संकटमा सरकारसँग सहयोगको माग गर्नु उनीहरुको दोस्रो भूमिका हो ।
    याक एण्ड यति होटलको हलमा खचाखच भरिएका व्यवसायीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री प्रकाश शरण महत र उद्योग मन्त्री रमेश रिजालले सम्बोधन गरे । सभालाई महासंघका अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सम्बोधन गरे ।
    आर्थिक संकटका कारण सरकार र निजी क्षेत्र दुबै गलेको उनीहरुको भनाई पुष्टि गर्दै थियो र एकले अर्कासँग सहयोगको याचना गरे । अर्थमन्त्री प्रकाश शरण महतले राजश्व आम्दानी घटेको, राजश्वले सामान्य खर्च पनि धान्न नसकेको, आन्तरिक तथा वाह्य ऋण लिएर सरकार चलाउनु परेको, स्वदेशी तथा विदेशी ऋणलाई सीमाभित्र राख्नु पर्ने चुनौति थपिएको उनले बताए ।
    राष्ट्र बैंकले श्रीलंकाको उदाहरण दिएर मौद्रिक नीति ल्याउँदा आयातमा कडाइ गरेपछि विदेशी मुद्रा संचितिमा सुधार भएको बताउँदै अब मौद्रिक नीति खुलुलो बनाइने उनले बताए । घरजग्गा व्यवसायमा आएको मन्दीलाई हटाउन कित्ताकाट खुलाउने तयारी भएको उनले बताए । समस्या सरकारसँग मात्र नभएर निजी क्षेत्रसँग पनि भएको उनले बताए । ‘कर्जा लिएपछि तिर्दिन भन्न मिल्दैन, बरु ब्याज, सावा तिर्न समय थप गर्न सकिन्छ तरतिर्दिन भन्न मिल्दैन’ उनले भने ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारको राजश्वमा सुधार भएको, रेमिट्यान्समा सुधार भएको, विदेशी मुद्राको संचिति उत्साहजनक अवस्थामा पुगेको जनाउँदै बजेटमा उत्पादन मुलक क्षेत्रलाई सहुलियत दिने गरी नीति, कार्यक्रम र बजेट आउने आश्वासन दिए । निजी क्षेत्रको समस्या समाधान गरेर मात्रै अर्थतन्त्रको समस्या समाधान हुने भन्दै उनले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या समाधान गर्न पटक/पटक छलफल भएको बताए ।
    ‘अर्थतन्त्र सुधार गर्न सम्पूणर् तागत लगाइरहेको छु, जसले गर्दा अर्थतन्त्रमा सुधार भएको छ राजस्व डेढ अर्ब, रेमिटेन्स १ खर्ब संकलन भैरहेको छ’, उनले भने, ‘बैंकको ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ, राज्य निजी क्षेत्रसँग सहकार्य गर्न र संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्न तल्लीन छ ।’
    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न नसक्ने बताएका छन् । ‘निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न सक्दैन, निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको छ’, उनले भने- ‘देशलाई समृद्धिमा लैजान हातेमालो गर्न तयार छु ।’
    उद्योगमन्त्री रिजालले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीलाई तत्काल ब्याजदर घटाउन आग्रह समेत गरे । यस्तै, उनले अहिलेको मन्दीलाईलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने दाबी गरे ।
    महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै उनले भने-‘महासंघ मेरो मन्दिर हो र सधैं मन्दिरका रुपमा रहिरहने छ, यहाँ कोरिएका अक्षरहरु मेरो पूजनीय बुबाको स्मृति मानसपटलमा आइरहन्छन् ।
    साथै, उनले आफ्नो कार्यकाल चुनौतिपूणर् रहेको बताउँदै कोरोना महामारी लगायत रुस र यूक्रेनका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताए । राजनीतिक अस्थीरताका कारण आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको उनले स्मरण गरे ।
    ‘हामीभन्दा कमजोर मुलुक आर्थिक रुपमा समुन्नत भैसके तर हामी पछि धकेलिनु परेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरु चल्न सक्दैनन् भनेर बैंकहरुले हेक्का राख्नु पर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन लगायत पर्चा सबैले देखिने गरि संसद र संसद बाहिर राख्न आग्रह छ,’ उनले भने । त्यस्तै, जीडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ । साना उद्यमीलाई बिना धितो कर्जा दिन व्यवस्था सरकारले गरेको छ । साना तथा मझौला सम्मेलन गरेर १० बुदे घोषणापत्र जारी गरेको छ ।
    बैंकर्स संघसँग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको बताउँदै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्थालाई तत्काल समाधान गनुपर्ने बताए । बिजुली किन सस्तो हुन सकेन ? व्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नु पर्ने भैसकेको समेत उनले बताए । विदेशी कम्पनी स्वदेश आएर सञ्चालन हुदा नाफा भएपनि बिदेशी लगानीका कम्पनी आउन नमानेको जानकारी गराउँदै यो विषयमा सरकार उदार भएर काम गर्नु पर्ने उनको भनाई छ ।
    महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताए । ‘आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन,” उनले भने, “तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।”
    उनले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्