News Portal

  • रसुवागढी नाका आजदेखि खुल्याे

    आर्थीकसंसार संवाददाता१८ चैत, २०७९
    ४४६ पटक
    १८ चैत, २०७९

    रसुवा । कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनस्थित तिब्बत क्षेत्रका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ ।
    नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा फर्केका थिए । कोरोना सङ्क्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए ।
    आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले बताए । नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार सङ्घका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए ।
    रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरूङतर्फ पठाइएको छ । मालसामान आयातका लागि आजै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।
    केरूङका लागि आठ सय ८७ ट्रक पालैपालो पठाइनृ भएको छ । कोरोना सङ्क्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो ।
    नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्