News Portal

  • नेपालमा एएफआइको बैठक सुरु, वित्तीय क्षेत्रमा जलवायु परिवर्तनको असरका विषयमा छलफल

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
    १७६ पटक
    २३ फागुन, २०७९

    काठमाडौं । एएफआइ Alliance for Financial Inclusion (AFI) को दुई वटा विषयगत कार्य समूहको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्र बैंक र AFI को संयुक्त आयोजनामा Inclusive Green Finance Working Group (IGFWG) र SME Finance Working Group (SMEFWG) को बैठक प्रारम्भ भएको छ ।
    IGFWG र SMEFWG बैठकको यो क्रमशः आठौँ र बीसौँ संस्करण हो । फागुन २६ गतेसम्म सञ्चालन हुने बैठकमा ४१ मुलुकका केन्द्रीय बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका ८० जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।
    बैठकको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको उल्लेख गर्दै सोको न्यूनीकरणका निम्ति यससम्बन्धी नीतिगत व्यवस्थालाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्यायिन । ग्रीन फाइनान्सको प्रवर्द्धनको लागि नेपाल सरकार र राष्ट्र बैंकबाट अवलम्बन गरिएका पछिल्ला कानुनी र नीतिगत व्यवस्थाका सम्बन्धमा समेत उनले जानकारी दिइन् ।
    नेपालमा साना तथा मझौला व्यवसायको प्रवर्द्धन र वित्तीय स्रोतको पहुँचको निम्ति राष्ट्र बैंकबाट भएका प्रयासका बारेमा समेत का.मु. गभर्नर तिम्सिनाले चर्चा गरिन् । नेपालमा Green Taxonomy तर्जुमाको लागि अनुदान र प्राविधिक सहायता उपलब्ध गराएकोमा AFI प्रति उनले आभार प्रकट गरिन् । साथै, नेपालमा वित्तीय समावेशीकरणको नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा समेत AFI बाट उल्लेख्य सहयोग प्राप्त भएको उनको धारणा थियो ।
    सो अवसरमा AFI का कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिगले विकासोन्मुख देशको रोजगारी सिर्जना र जीविकोपार्जन सुधारमा साना तथा मझौला उद्यमको विशिष्ट योगदान रहेको चर्चा गर्दै यस क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ठोस कदम चाल्नुपर्ने धारणा राखेका थिए । यसै सन्दर्भमा AFI का सदस्य संस्थाहरूबीच नीतिगत सहकार्य, प्राविधिक सहायता आदानप्रदान र क्षमता विकास अभिवृद्धिमा उक्त बैठक फलदायी रहने विश्वास उनले व्यक्त गरे । ग्रीन फाइनान्सको प्रवद्र्धनको लागि राष्ट्र बैंकले लिएका नीतिगत पहलको प्रशंसा गर्दै ह्यानिगले बैंकको यो प्रयास अन्य सदस्य संस्थाको निम्तिसमेत अनुकरणीय रहेको चर्चा गरे ।
    चार दिने कार्यक्रमअन्तर्गत पहिलो र अन्तिम दिन दुवै समूहको संयुक्त बैठक सञ्चालन हुनेछ । दोस्रो र तेस्रो दिन सम्बन्धित समूहको कार्यक्षेत्रअन्तर्गतका विषयमा अलगअलग छलफल हुनेछ । IGFWG को बैठकमा वित्तीय समावेशीकरणका साथै जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय र सामाजिक असर, यसलाई सम्बोधन गर्नका निम्ति क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भएका नीतिगत अभ्यास र यसको प्रभावबारे सहभागीहरूबीच विस्तृत छलफल हुनेछ ।
    यसै गरी, SMEFWG को बैठकमा विश्व अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको  योगदान, लैंगिक समानता र यस क्षेत्रका विद्यमान चुनौतीबारे अन्तरक्रिया हुनेछ । यसका साथै विभिन्न सदस्य संस्थाका तर्फबाट साना तथा मझौला व्यवसायमा वित्तीय स्रोतको पहुँचको अवस्था र यसबाट वित्तीय समावेशीकरणको प्रवद्र्धनमा पुगेको योगदानबारे आ–आफ्ना कार्य अनुभवहरू प्रस्तुत हुनेछन् ।
    दुवै बैठकपश्चात् साना तथा मझौला उद्यम/व्यवसायमार्फत जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई सम्बोधन गर्न अवलम्बन गर्न सकिने नीतिगत अभ्यास र भावी कार्यदिशाका सन्दर्भमा सदस्य संस्थाका प्रनिनिधिबीच छलफल हुनेछ । दुई बैठकमध्ये IGFWG र SMEFWG को अध्यक्षता क्रमशः सेन्ट्रल बैंक अफ नाइजेरियाका उप–निर्देशक डा.पल ओलुक्पी र बैंक अफ नामिबियाका निर्देशक डा. एमा हाइयाम्बोले गर्ने छन् ।
    जलवायु परिवर्तनका कारण सिर्जित असहज परिस्थितिलाई सम्बोधन गर्दै ग्रीन फाइनान्सको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१९ मा API अन्तर्गत IGFWG गठन गरिएको थियो । यसै गरी, साना तथा मझौला उद्यमको प्रवद्र्धनमार्फत आर्थिक वृद्धि, दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यका साथ सन् २०१३ देखि SMEFWG लाई क्रियाशील बनाइएको हो ।
    क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार गर्ने साझा उद्देश्यका साथ सन् २००८ जनवरी १ मा API को स्थापना भएको हो । वित्तीय पहुँच विस्तार र वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति नीतिगत सहकार्य, प्राविधिक सहायता र ज्ञान आदानप्रदानमा यस संस्था क्रियाशील रहँदै आएको छ ।
    API अन्तर्गत विभिन्न सात वटा विषयगत समूहहरू क्रियाशील छन् । यसै गरी, नीतिगत सहकार्यका निम्ति विभिन्न छ वटा विषयगत क्षेत्रहरूसमेत निर्धारण गरिएका छन्। उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य आठ वटा नियामक संस्था गरी कुल ८४ संस्थाहरू API को सञ्जालमा आबद्ध छन् । मलेसियाको क्वालालम्पुरमा यसको मुख्यालय अवस्थित छ ।

    प्रतिकृया दिनुहोस्