News Portal

  • यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७९
    ३८९ पटक
    १५ फागुन, २०७९

    काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।
    युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।
    नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए ।
    छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।
    २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।
    हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।
    टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।
    हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए ।  मोहम्मद अलियान जाहिरले २९ रन बनाए ।
    हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे ।
    हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।
    सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने छ टिम २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

    प्रतिकृया दिनुहोस्