News Portal

  • रेमिट्यान्स बढ्ने आशमा बैंकहरुले बढाउन थाले शैक्षिक कर्जा, विदेश जान कसरी लिने ऋण ?

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७९
    ३०५ पटक
    ५ फागुन, २०७९

    काठमाडौं । एक वर्षको अवधिमा शैक्षिक कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकबाट विदेशमा पढ्नका लागि शैक्षिक कर्जा लिनेको संख्या १२७ प्रतिशतले बढेको हो ।
    चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ३३ अर्ब ३४ करोड २१ लाख रुपैयाँ शैक्षिक अध्ययनका लागि कर्जा प्रवाह गरेका छन् । जुन गत वर्षको तुलनामा १२७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुले १४ अर्ब ६५ करोड रुपैयाँ मात्रै शैक्षिक कर्जा प्रवाह गरेका थिए ।
    बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेहरु अधिकांश विदेशमा अध्ययन गर्ने रहेका बैंकर्सहरु बताउँछन् । अहिले नेपालबाट विदेशमा अध्ययनका लागि जाने ट्रेण्ड नै चलेको छ । जसले गर्दा विदेशमा जाँदा विदेशी मुद्राको समेत सञ्चिती घटेको बैंकरहरु बताउँछन् ।
    अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढेसँगै शैक्षिक कर्जा पनि उल्लेख्य बढेको बैंकरहरु बताउँछन् । विदेशमा अध्ययनका लागि सम्पत्ति देखाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले पनि कर्जा बढेको उनीहरुको भनाई छ । विदेशमा अध्ययन गर्ने बाहेक स्वदेशका लागि शैक्षिक कर्जा लिएर अध्ययन गर्ने भने न्यून छन् ।
    नेपालमा मेडिकल विषय लिएर पढ्ने विद्यार्थीले मात्रै शैक्षिक कर्जा लिने गरेका छन् । यी बाहेक अन्य सबै कर्जा विदेशमा पढ्ने विद्यार्थीहरुले लिएको बैंकर्सहरु बताउँछन् ।
    कुन बैंकले कति दिए ?
    एक वर्षको अवधिमा २२ वाणिज्य बैंकहरुले १८ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये २० वटा बैंकको बढेको छ भने २ बैंकको घटेको छ ।
    समीक्षा अवधिमा सिभिल बैंकले आक्रामक रुपमा शैक्षिक कर्जा बढाएको छ । बैंकले ९९८ प्रतिशत बढाएर १ अर्ब ११ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, एनएमबि बैंकको ३१२ प्रतिशत बढेर २ अर्ब २९ करोड ७१ लाख रुपैयाँ, मछापुच्छ्रे बैंकको २९४.९० प्रतिशत बढेर १ अर्ब ४ करोड २६ लाख रुपैयाँ, कुमारी बैंकको २५४ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ, सिटिजन्स बैंकको २२९ प्रतिशत बढेर ३८ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकको १८८.६२ प्रतिशत बढेर ३ अर्ब १३ करोड ६१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १५८ प्रतिशत बढेर २ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको १५० प्रतिशत बढेर ८२ करोड २१ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् ।
    यस्तै, प्राइम बैंकको ११८.४३ प्रतिशत बढेर २४ करोड १ लाख रुपैयाँ, एभरेष्ट बैंकको ११७ प्रतिशत बढेर २ अर्ब ४५ करोड २३ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ११३.५९ प्रतिशत बढेर ३ अर्ब ३८ करोड २ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ११२.३७ प्रतिशत बढेर ६ करोड ८६ लाख रुपैयाँ र सानिमा बैंकको १०५.३० प्रतिशत बढेर १ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् ।
    यस्तै, हिमालयन बैंकको ८७.६५ प्रतिशत बढेर २० करोड ९० लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ७८ प्रतिशत बढेर १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ, लक्ष्मी बैंकको ७६.६१ प्रतिशत बढेर ६४ करोड ९ लाख रुपैयाँ, नबिल बैंकको ६८.३२ प्रतिशत बढेर ४ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ, सनराइज बैंकको २६.३७ प्रतिशत बढेर ५६ करोड ८० लाख रुपैयाँ, कृषि विकास बैंकको १८.२९ प्रतिशत बढेर १ अर्ब ३० करोड ६२ लाख रुपैयाँ र नेपाल बैंकको १०.८६ प्रतिशत बढेर ९ करोड ३६ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् ।
    समीक्षा अवधिमा भने स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकको कर्जा घटेको छ भने अन्य सबै बैंकले कर्जा बढाएका हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६३ लाख रुपैयाँ घटेर १ करोड ९७ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको ४ करोड ५० लाख रुपैयाँ घटेर १९ करोड ७४ लाख रुपैयाँ मात्रै शैक्षिक कर्जा प्रवाह गरेका छन् ।
    अर्थविद्ध अच्युत वाग्लेले  विदेश जाने विद्यार्थीहरुले अर्बौं रुपैयाँ शैक्षिक कर्जा दिँदा पनि कसैले पनि चित्त नदुखाएको बताउँछन् । उनी सोही बराबरको रकम नेपाली शिक्षा प्रणालीमा लगानी गर्नुपर्ने धारणा राख्छन् । ‘विदेशमा पढ्न जाने विद्यार्थीहरुले औपचारिक माध्यमबाट ३७ अर्ब रुपैयाँ लिएर गएका छन्, विदेश जाने विद्यार्थीले वर्षमा ३६ अर्ब लगेको रकममा चित्त दुखाएका छैनौं,’ उनले भने ।
    महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटा शैक्षिक कर्जा लिनेमा अधिकांश विदेशमा पढ्न जाने विद्यार्थी रहेको बताउँछन् । ‘अहिलेसम्म बैंकबाट कर्जा लिएर स्वदेशमै अध्ययन गर्ने खासै छैनन्, बैंकबाट ऋण निकालेर विदेशमा पढ्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ, उनीहरुलाई बैंकले सहज रुपमा उपलब्ध गराउँछ,’ उनले भने ।
    विद्यार्थीहरुको क्षमता हेरेर बैंकहरुले शैक्षिक कर्जा दिने गरेको उनले बताए । परिवारको आम्दानीको स्रोत हेरेर शैक्षिक कर्जा दिने गरेको उनको भनाइ छ ।
    ‘शैक्षिक कर्जा दिँदा परिवारको आम्दानीको स्रोत हेरिन्छ, विदेशी कलेजमा भर्ना भएको प्रमाण चाहिन्छ, कलेजमा पैसा तिर्नुपर्ने अवधि तोकिएको हुनुपर्छ, मन्त्रालयको नो अब्जेक्सन पत्र पनि चाहिन्छ,’ उनले भने, ‘राष्ट्र बैंकका नियमहरु पनि पालना गर्नुपर्छ, किनभने विदेशी मुद्रामा कारोबार हुने भएकाले शैक्षिक कर्जा संवेदनशील मानिन्छ, विदेशी मुद्रासँग सम्बन्धित परिपत्र पालना हुन्छ ।’
    उनका अनुसार यदि कुनै व्यक्ति विदेश जाँदा ऋणको लागि सबै प्रक्रिया पुर्याएर आउँछ भने उसले सजिलै कर्जा पाउँछ । शैक्षिक कर्जा दिँदा धितोको रुपमा घरजग्गा राख्ने गरिएको छ । विश्वविद्यालयको शुल्कमा आधारमा विद्यार्थीलाई कर्जा दिने गरेको सीईओ देवकोटा बताउँछन् । कुनै कलेजमा धेरै र कुनै कलेजमा थोरै शुल्क हुने भएकाले आवश्यकता हेरेर दिने गरेको उनले बताए ।
    ‘विश्व विद्यालयले कुन-कुन समयमा पैसा पठाउनु भनेको छ सोही अनुसार पैसा पठाइन्छ, विश्व विद्यालयले तोकिएको खातामा नै जाने हो,’ उनले भने ।
    ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सुरेन्द्र राज रेग्मी सामान्यतया विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा दिने गरेको बताउँछन् । शैक्षिक कर्जाको ब्याजदर बजारमा तोकिए अनुसार नै लिने गरेको उनको भनाइ छ । विद्यार्थीहरुको लोन एकाउण्टमा डेबिट गरेर कलेजमा पठाइदिने गरेको उनले बताए ।
    बैंकले ऋणीको क्षमता र ऋणीको आम्दानीको स्रोत हेरेर कर्जामा ब्याजदर निर्धारण गर्ने गरेको उनको भनाइ छ । ‘बैंकले प्लस टूभन्दा माथिल्लो तहका लागि शैक्षिक कर्जा उपलब्ध गराउँछ, विदेश गएपछि रेमिट्यान्स बढ्छ, विदेशी मुद्रा आउँछ, बैंकहरुले शैक्षिक कर्जालाई प्रमोट गरेका छ, शैक्षिक कर्जालाई रोकेको छैन,’ उनले भने ।
    बैंकहरु अझै शैक्षिक कर्जा विस्तार गर्ने योजना बनाई रहेका छन् । शैक्षिक कर्जा रोक्नेभन्दा पनि मार्केटिङ गरेर मलजल गरिरहेका छन् । एकपटक विदेशी मुद्रा गएपनि विदेश गइसकेपछि डबल रकम भित्रिने लोभले बैंकहरु अझै शैक्षिक कर्जालाई प्रमोट गरिरहेका छन् ।
    कस्ता विद्यार्थीलाई दिइन्छ शैक्षिक कर्जा ?
    बैंक तथा वित्तीय संस्थाहरुले नेपाल र विदेशमा उच्च शिक्षाको अध्ययन खर्चको लागि शैक्षिक कर्जा दिने गरेका छन् । बैंकले विद्यार्थीहरुलाई कलेजको भर्ना शुल्क, शैक्षिक सामाग्री तथा उपकरण, शैक्षिक भ्रमण, प्रोजेक्ट कार्य, थेसिस आदि कार्यका लागि कर्जा उपलब्ध गराउँछन् ।
    साथै, १६ वर्षदेखि ३० वर्ष उमेरसम्मका विद्यार्थी जो उच्च शिक्षा अध्ययन गर्न चाहान्छन्, उनीहरुले शैक्षिक कर्जा पाउँछन् । तर, विद्यार्थीले कम्तिमा पनि ५० प्रतिशत अंक ल्याएको हुनु पर्नेछ । साथै, परिवारको आम्दानीको स्रोत पनि खुलाउनुपर्ने हुन्छ ।
    विद्यार्थीले लिने कर्जा रकमको १ सय प्रतिशत बराबर मूल्याङ्कन भएको घरजग्गाको धितो सुरक्षण राख्नुपर्ने हुन्छ । विद्यार्थीले रोजगारी पाएको एक महिना वा एक वर्षपछि कर्जा भुक्तानी गर्नुपर्नेछ । तर, ३/३ महिनामा ब्याज भने तिर्नुपर्ने हुन्छ ।

     

    प्रतिकृया दिनुहोस्