News Portal

  • सुनचाँदी व्यवसायको प्रवर्द्धन र जोखिम व्यवस्थापनका लागि महासंघ र प्रभु इन्स्योरेन्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता८ माघ, २०८१
    १२ पटक
    ८ माघ, २०८१

    काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सुनचाँदी व्यवसायको प्रवर्द्धन र व्यवसायीहरूलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले हस्ताक्षर भएको हो ।

    यस समझदारीपत्रले सुनचाँदी व्यवसायीहरूको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

    समझदारीअनुसार प्रभु इन्स्योरेन्सले सुनचाँदी व्यवसायीहरूका लागि विशेष बीमा योजना र सेवाहरू प्रदान गर्नेछ । यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पुर्‍याउनेछ ।

    साथै, महासंघले व्यवसायीहरूबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवर्द्धन गर्न प्रभु इन्स्योरेन्ससँग सहकार्य गर्नेछ ।

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघतर्फबाट महासचिव निरबहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जनका साथै प्रभु इन्स्योरेन्सको तर्फबाट बजार विभाग प्रमुखसमिर तामाङ र वित्त विभाग प्रमुख अरविन्दकुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरे ।

    समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरूमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

    प्रभु इन्स्योरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरूमार्फत व्यवसायीहरूको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्