News Portal

  • नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ माघ, २०७९
    ५२८ पटक
    २२ माघ, २०७९

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज (२०७९ माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गर्नुभएको थियो ।


    समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताउनु भयो । उहाँले भन्नुभयो– नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमी अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरु लगायत सेवाहरु उपलब्ध गराइरहेको छ । यी सेवाहरु निरन्तर सुलभ रुपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उहाँले इंगीत गर्नुभयो । सो अवसरमा उहाँले अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोंच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरुमा नाफारहीत रुपमा भएपनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरु उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उल्लेख गर्दै विकट स्थानका जनताले तिरेको मूल्यबाट यस संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुनेगरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न निर्देशन दिनुभयो ।
    मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता शेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि सो कार्यक्रममा बताउनु भयो ।


    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टी सर्वोपरी हुनुपर्ने बताउनु भयो । ‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ’ उहाँले सो अवसरमा उल्लेख गर्नुभयो । सेवाहरु निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजश्वमा थप बढोत्तरी हुने अर्यालले बताउनु भयो । ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
    सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनु भयो । उहाँले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिनुभयो ।
    नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले
    नयाँ प्रविधिका रुपमा भ–क्क्ष्ः को देशव्यापी वितरण गरिरहेको तथा ख्यध्क्ष्ँक्ष् सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पु¥याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी पनि दिनुभयो ।
    कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा ल्त् ब्ललष्खभचकबचथ इााभच उपलब्ध गराइएको छ । यस अन्तर्गत रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३ दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ । यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।
    वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेका पनि उहाँले बताउनु भयो ।
    यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार श्री ठाकुरप्रसाद मैनालीज्यूलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवाहरु निशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
    साथै, आज कम्पनीको १९औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षण (त्भकतष्लन) को शुरुवात समेत गरिएको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको छ ।

     

     

    नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशकज्यूको मन्तव्य

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९औं वार्षिकोत्सव समारोहका सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री वैकुण्ठ अर्यालज्यू,

    प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यू,

    बिशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष श्री पुरुषोत्तम खनालज्यू,

    कम्पनी सञ्चालक समितिका सदस्यज्यूहरु,

    कम्पनीका पूर्व सञ्चालकज्यूहरु, पूर्व महाप्रबन्धक तथा प्रवन्ध निर्देशकज्यूहरु, पूर्व नायव महाप्रबन्धक तथा नायव प्रबन्ध निर्देशकज्यूहरु,

    हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नु भएका अतिथिज्यूहरु, सञ्चारकर्मी मित्रहरु, कम्पनीका सहकर्मी मित्रहरु, कर्मचारी वर्ग तथा कम्पनीमा क्रियाशिल युनियनहरु एवम् उपस्थित महिला तथा सज्जनवृन्दमा स्वागत तथा अभिवादन।

    बि. सं. २०६० माघ २२ गते ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औं वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यस यात्राका दौरानमा कम्पनीको उद्देश्य प्राप्त  गर्नका लागि निरन्तर हौसला, सद्भाव, सहयोग र शुभ-कामना प्रदान गर्नुहुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत नेपाल सरकारका निकायहरु, कम्पनी सञ्चालक समिति, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनीका ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, विविध सेवा सञ्चालनमा सहयोग पुर्‍याउने आपूर्तिकर्ताहरु, डिलरहरु, व्यावसायिक साझेदारहरु तथा सञ्चारकर्मी मित्रहरु, कम्पनीका कर्मठ कर्मचारी मित्रहरु तथा शुभेच्छुक सबै महानुभावहरुमा कम्पनीको १९औं वार्षिकोत्सवका अवसरमा हार्दिक आभार व्यक्त गर्दछु।

    कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विश्वबजारमा उपलव्ध भएका अत्याधुनिक प्रविधि भित्र्याई प्राविधिक रुपले सम्भव भएसम्म देशभर सेवा विस्तार र आर्थिक क्षमताले सम्भव भएसम्म सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको वास्तविकता यहाँहरुमा अवगत नै छ। यी प्रयासहरुबाट कम्पनीले राज्यको ढुकुटीमा निरन्तर योगदान गर्दै आइरहेको छ । यिनै कार्यहरु सम्पन्न गर्नका लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुको साथ, व्यावसायिक साझेदारहरुको सहयोग, आपूर्तिकर्ताहरु तथा डिलरहरूको जिम्मेवारी बोध एवम् ग्राहकवर्गबाट प्राप्त अपार माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

    कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क हेर्ने हो भने

    १९ वर्ष अघि कम्पनीमा रुपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा यहि २०७९ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड १३ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिब ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी रहेका छन् ।

    भ्वाइस सेवाको निरन्तर घट्दो प्रयोग र डाटा सेवामा रहेको तीव्र प्रतिस्पर्धात्मक वातावरणका बाबजुद आ.व. २०७८/७९ मा कम्पनीको कुल आय रु ४४ अर्ब ३७ करोड पुगेको छ भने, कम्पनीको खुद मुनाफा रु. ८ अर्ब ४७ करोड भएको छ । चालु आ. व. को पौष मसान्तसम्म कम्पनीले रु. २१ अर्ब ८० करोड राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आ.व. २०७७/७८ मा Income Tax, Value Added Tax, Telecom Service Charge, Ownership Tax, Customs Duty, Royalty, RTDF, Dividend, Property & Vehicle Tax लगायतका कर तथा गैह्रकर गरी कम्पनीले रु २६ अर्ब ४१ करोड रकम योगदान गरेको थियो भने यस आ. व. मा समेत उक्त योगदान वृद्धि हुने अपेक्षा गरिएको छ।

    कम्पनीको सेवा विस्तार सम्बन्धमा

    भ्वाइस सेवातर्फ २०७९ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड १३ लाख २५ हजार भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १ लाख ८६ हजार भन्दा बढी, सीडीएमए सेवाका ४ लाख ३६ हजारभन्दा बढी र पीएसटीएन सेवाका ग्राहक ४ लाख ५५ हजार भन्दा बढी रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार तथा एफटीटीएच डाटा सेवाका ग्राहक २ लाख ११ हजार रहेका छन् । २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको MIS Report अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२.२४ प्रतिशत रहेको छ ।

    इन्टरनेट डाटा सेवातर्फ २०७९ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड ६ लाख १८ हजार ६ सय भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम  मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता  ७८ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजार रहेका छन् ।

     4G/LTE आयोजना सम्बन्धमाः

    कम्पनीले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिंदै आइरहेको छ । यसै सन्दर्भमा कम्पनीले वायरलेस ब्रोडब्याण्ड अर्थात् 4G/LTE सेवाको देशव्यापी विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्ला तथा ७३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको छ।

    • 4G/LTE नेटवर्क विस्तारसँगै 4G डाटाको खपतमा उल्लेखनीय बृद्धि भएको छ । नयाँ प्रविधिका रुपमा e-SIM को देशव्यापी वितरण गरिरहेका छौं । डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलव्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी/एलटीई सेवा विस्तार भएसँगै VoLTE को प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ भने VoWIFI सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । मुलुकभर सेवा विस्तार, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको छ ।
    • 5G तर्फ उपकरणहरुको जडान गरी फाइभजीको परीक्षण (Trial) जारी रहेको छ । जिएसएम प्रविधि अन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिक रुपमा नै फरक Architecture बाट सञ्चालन हुने भएकोले भविष्यमा फाइभजीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरणहरु Compatible हुने/नहुने, स्तरोन्नती गर्नु पर्ने/नपर्ने, विस्थापन गर्नु पर्ने/नपर्ने आदि विश्लेषण गर्ने कार्य पनि भइरहेको छ ।

    FTTH आयोजना सम्बन्धमाः

    कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने FTTH सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको छ । यसअघि नै मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा बांकी अन्य स्थानहरुमा पुर्‍याउने योजना पनि अगाडि बढाइएको छ ।

    पूर्वाधार विकास तर्फ

    मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म १ हजार ३ सय २६ कि.मी. फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ। यसबाट सूचना महामार्ग निर्माणको परिकल्पनालाई साकार पारी नेपाल सरकारको Digital Nepal Framework को अवधारणा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।

    मोबाइल बैङ्किङ तर्फ

    सेवाग्राहीलाई सहज रुपमा वित्तीय पहुँचमा पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ‘नमस्ते पे’ सेवा सञ्चालनमा ल्याएको छ । नमस्ते पे मार्फत बैंकबाट वालेटमा टपअप गर्ने, दूरसञ्चार सेवाको रिचार्ज गर्ने, विद्युत तथा खानेपानी, हवाई टिकट, सरकारी दस्तुरहरु (कर, सेवा शुल्क, राजश्व आदि) तिर्ने तथा बिल, रिक्वेस्ट मनी पठाउने सेवाहरु उपलब्ध छन् । निकट भविष्यमा अस्पताल, विद्यालय, विश्वविद्यालयमा लाग्ने शुल्क तिर्ने, रेमिट्यान्स सेवा, सिनेमा हलको टिकट बुकिङ सेवा उपलब्ध हुनेछ। Digital Nepal Framework कार्यान्वयन बाट Cashless Society को परिकल्पना साकार पार्न र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।

    कर्मचारी विनियमावली तर्फः

    कम्पनीका कर्मचारीहरुको वृत्ति विकास तथा सेवा सुविधा सम्बन्धी व्यवस्था थप गरी कम्पनीको विनियमावली संशोधन गर्ने प्रक्रियामा रहेको छ । कम्पनीको नयाँ सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत भएसँगै पदोन्नती र पदपूर्तिको प्रक्रिया जारी रहेकोले कर्मचारीहरुलाई वृत्तिविकासको अवसर प्राप्त भएको छ। आगामी दिनमा दरबन्दी बमोजिम कर्मचारीहरुको पदस्थापन गर्ने, कार्य सम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, तालिम/वर्कसप/सेमिनार आदिमा सहभागी गराउने, पदपूर्तिको लागि समय तालिका बमोजिम विज्ञापन गर्ने र कर्मचारीलाई प्रविधिमैत्री बनाउने कार्ययोजना रहेको छ  ।

    संस्थागत सामाजिक उत्तरदायित्व (CSR)

    कम्पनीले हरेक वर्ष वार्षिकोत्सव लगायत अन्य अवसरहरुमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सरकारी र सामुदायिक विद्यालय,धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई विभिन्न सहयोगका कार्यक्रमहरु गरिरहेको र भविष्यमा पनि सो कार्यलाई जारी राखिने व्यहोरा १९औं वार्षिकोत्सवको अवसरमा यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

    साथै, वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले निम्नानुसार सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ :

    १. मिति २०७८ माघ १ गतेदेखि २०७९ पौष मसान्त सम्ममा रिचार्ज सेवातर्फ तोकिएको लक्ष्य पूरा गरी सबैभन्दा बढी रकमको कारोबार गर्ने सात वटै क्षेत्रबाट एक/एक जना गरी ७ जना र MPOS (Pin less Recharge) तर्फ एक जना गरी जम्मा ८ जना डिलरहरुलाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको मोबाइलमा १ वर्षसम्मको लागि मासिक रु.१,४९९।– को  सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    २. मिति २०७८ माघ १ गतेदेखि २०७९ पौष मसान्त सम्मको अवधिमा कम्पनीका सेवाहरु Mobile Postpaid & Mobile Prepaid, PSTN, FTTH प्रयोगका आधारमा सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकहरु एक/एक जना गरी जम्मा ४ जना र Leased Line (सरकारी र निजी गरी २ जना) गरी जम्मा ६ जनालाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको मोबाइलमा १ वर्ष सम्मको लागि मासिक रु.१,४९९।– सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    ३. मिति २०७८ माघ १ गतेदेखि २०७९ पौष मसान्त सम्मको अवधिमा सबैभन्दा बढी रकमको सेवा प्रयोग गर्ने SIP PBX सेवाका ग्राहकलाई प्रशंसा पत्र सहित सम्मान गर्ने र निजले प्रयोग गर्ने नेपाल टेलिकमको मोबाइलमा १ वर्षसम्मको लागि मासिक रु.१,४९९।– को सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    ४. प्रादेशिक निर्देशनालय अन्तर्गतका कार्यालयहरुमध्ये एफटीटीएच सेवा वितरणमा तोकिएको लक्ष्यको अनुपातमा सर्वोत्कृष्ट प्रगति हासिल गर्ने कार्यालयहरुलाई कदर स्वरुप प्रशंसा पत्र प्रदान गर्ने ।

    ५. २०७८ माघ १ देखि २०७९ पौष मसान्त सम्मको अवधिमा कम्पनीको Subscription र Non–Subscription based VAS सेवा तर्फ कम्पनीको राजश्वमा सबैभन्दा बढी योगदान पुर्‍याउने २ जनालाई प्रशंसा–पत्र सहित सम्मान गर्ने र निजले प्रयोग गर्ने नेपाल टेलिकमको मोबाइलमा १ बर्ष सम्मको लागि मासिक रु. १,४९९।– को सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    ६. २०७८ माघ १ देखि २०७९ पौष मसान्तसम्मको अवधिमा कम्पनीको CUG सेवा सबैभन्दा बढी प्रयोग गरे वापत सरकारी र निजी क्षेत्र गरी २ जनालाई प्रशंसा–पत्र प्रदान गर्ने र नेपाल टेलिकमको मोबाईलमा १ वर्ष सम्मको लागि मासिक रु. १,४९९।– को सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    ७. मुलुकमा दूरसञ्चार सेवाको विकास र गतिलाई कलाकारिता मार्फत झल्काउने गरी तत्कालीन नेपाल दूरसञ्चार संस्थानका कार्यालयहरुमा विभिन्न आकृतिका स्वतः स्तम्भित प्रतिमाहरु तयार गरी दूरसञ्चार सेवाको महत्व अभिवृद्धि गर्न योगदान पुर्‍याउनु भएको कदरस्वरुप वरिष्ठ मूर्तिकार श्री ठाकुरप्रसाद मैनालीज्यूलाई सम्मान-पत्र प्रदान गर्ने र उहाँको सु–स्वास्थ्य, दीर्घायु तथा सुखद भविष्यको कामना गर्दै ४० Mbps Speed को FTTH Data, Voice र NTTV सेवा १ वर्षसम्म निःशुल्क उपलब्ध गराउने ।

    साथै, कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा NT Anniversary Offer  उपलब्ध गराइएको छ। यस अन्तर्गत जम्मा रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३  दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ । यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । यसैगरी नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ। यो सेवा माघ २२ देखि फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।

    अन्त्यमा,

    आफ्नो अत्यन्त व्यस्तताका बाबजुद हाम्रो आमन्त्रणलाई स्वीकार गरी यस कार्यक्रमको गरिमा बढाई दिनु भएकोमा प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यू लगायत सम्पूर्ण अतिथि महानुभावहरुमा पुनः स्वागत एवं हार्दिक आभार प्रकट गर्दछु । कम्पनीको प्रगतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै महानुभावहरु, कर्मचारीवर्ग, कम्पनीमा क्रियाशील युनियनहरु लगायत सम्पूर्ण ग्राहकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि यहाँहरुको शुभ-कामना, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहने विश्वासका साथ कम्पनीको प्रगतिका लागि सकारात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गर्दछु ।

    धन्यवाद । २०७९ माघ २२

    प्रतिकृया दिनुहोस्