News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१० माघ, २०७९
    ४१२ पटक
    १० माघ, २०७९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव समारोह माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताउनुभयो । उहाँले बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताउनुभयो । उहाँले संस्थागत सुशासन, पारदर्शीता, भ्रष्टचारमुक्त र शुन्य सहनशीलता नीति अपनाउनुपर्ने बताउनुभयो ।


    प्रमुख अतिथि एवं माननीय विष्णुप्रसाद पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोवाइल बैंकिङ्गलाई आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ गर्नुभएको थियोे । बैंकको ५८औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७९ विमोचन गर्नुभएको थियो । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।
    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको बताउनुभयो । उहाँले अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढिरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताउनुभयो ।
    बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरणसम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङ सेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताउनुभयो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै IT Enhancement Roadmap को कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउने, बैंकका सम्पूर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सूधार गरी बैंकलाई हरेक पक्षबाट सूदृढ बनाउन Business Process Re-engineering  को कार्यलाई अगाडि लाने, बैंकको अचल सम्पतिको उचित व्यवस्थापन गर्न Asset Utilization Project,  बैंकको हिसाब मिलानको कार्यलाई प्रभावकारी बनाउन Reconciliation Project  तथा अनावश्यक खर्च कट्यौती तथा नियन्त्रणका लागि कस्ट कन्ट्रोल प्रोजेक्ट Cost Control Project  जस्ता प्रोजेक्टहरुलाई कार्यान्वयन गर्ने आदि मुख्य प्राथमिकताका विषय रहेका बताउनुभयो । उहाँले त्यसबाहेक बैंंकको ग्राहक सेवामा पनि अझ सुधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरुप्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले २०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताउनुभयो । कार्यक्रममा बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
    आज भन्दा ५८ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो बैंकसँग कारोबार गर्ने कूल ग्राहकको संख्या करिब ३८ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २६५ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड््को मारेको छ । हालसम्म करिब ७ लाख एटीएम ATM प्रयोगकर्ता, करिब १६ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता, २० हजार इन्टरनेट बैंकिङ प्रयोगकता तथा १० हजार BLB प्रयोगकर्ता रहेका छन् ।
    ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४३० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र, शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल दुर्गा कँडेल, ब्राण्ड एम्बासडर एवं मिस नेपाल प्रियंका रानी जोशी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरुलगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्