काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रचण्डलाई कूल एक सय ६९ सांसदको समर्थन छ । त्यसमा नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।
प्रचण्डले प्रधानमन्त्री भएको ३० दिनभित्र संविधानको धारा ७६ (४) अनुसार संसदबाट विश्वासको मत प्राप्त गर्नुपर्छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।
काे हुन् दाहाल ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड को जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए ।
२०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका दाहाल २०७५ सालमा एमालेसँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बनेका थिए ।