News Portal

  • राबा बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७७
    ८४८ पटक
    १४ असोज, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । बैंक र घरेलु उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका छन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुगी रोजगारी सिर्जनासमेत हुने बताए ।
    सम्झौतापछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ । बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २४१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बैंकले जनाएको छ ।
    महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुग्ने बताए । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत देवेन्द्ररमाण खनाल, विभागीय प्रमुखहरु, महासंघका महासचिव डम्बरप्रसाद रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्