News Portal

  • नेपालीलाई बैंकिङ अभ्यास सिकाउने नेपाल बैंक ८६ वर्षमा

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७९
    ३७१ पटक
    ३० कार्तिक, २०७९

    काठमाडाैं । नेपाल बैंक नेपालको सबैभन्दा पुरानो बैंक मात्रै होइन नेपाली बैंकिङ अभ्यासलाई यो अवस्थासम्म पुर्याउनका लागि ठूलो योगदान गरेको एक धरोहर पनि हो ।
    सोही नेपाल बैंक बुधबार आफ्नो ८६ औं वार्षिकोत्सब मनाउँदैछ । ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको नेपाल बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ ।
    वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको स्थापनामा पहलकर्ता तत्कालिन राजा श्री ५ त्रिभुवन बीर विक्रम शाह हुन् । तत्कालिन समयको तेजारथ अड्डालाई प्रतिस्थापन गर्दै नेपाल बैंक खोलिएको बैंकको भनाई छ ।
    ८ लाखबाट १४ अर्ब पूँजीकाे यात्रा
    नेपाल बैंकका अनुसार वि.स १९९४ सालमा नेपाल बैंक ८ लाख ४२ हजार रुपैयाँ पूँजीमा स्थापना भएको हो । तत्कालीन साहु महाजनहरुका निजी डिलर तथा व्यापारिक केन्द्रमा सीमित रहेको वित्तीय कार्यहरु (मौद्रिक लेनदेन) लाई औपचारिक माध्यमबाट सञ्चालन गर्नु, जनताहरुमा बचत गर्ने बानीको विकासगर्दै उद्योग व्यवसायका लागि कच्चा पदार्थ आयातगर्न, देशमा उत्पादित वस्तुहरु निकासी गर्न मद्धत पुगोस् भन्ने अभिप्रायले सरकार तथा निजी क्षेत्रको संयुक्त लगानीमा नेपाल बैंक स्थापना गरिएको नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारी बताउँछन् ।
    उनका अनुसार बैंकिङ क्षेत्रको अवधारणानै बुझ्न नसकिएको सो समयमा अधिकृत पूँजी १ करोडमा निजी क्षेत्रको ६० प्रतिशत र सरकारको ४० प्रतिशत लगानी गर्ने गरी २५ लाखको सेयर जारी गरिएको थियो ।
    सो सेयरमा १० जना सेयरधनीबाट कुल ८ लाख ४२ हजार मात्रै लगानी भएको बुझिएको छ । ‘त्यतिखेर धेरैलाई बैंक भनेकै थाहा थिएन, निक्षेप संकलन र कर्जा लगानी गर्न पनि गाह्रो नै पथ्र्यो होला, स्थापनाको पहिलो वर्षमा १७ लाख रुपैयाँ निक्षेप, १९ रुपैयाँ कर्जा र १४ हजार रुपैयाँ बचत रहेको भेटिएको छ,’ प्रवक्ता अधिकारीले भने ।
    उनका अनुसार बैंकको स्थापनाकालमा बैंकको अध्यक्षको रुपमाकेशर शम्सेर जबराले र प्रमुख कार्यकारी अधिकृतको रुपमाठाकुर सिंह कठायतले काम गरेको भेटिएको छ । स्थापनाको वर्षमा १२ जना कर्मचारीबाट काम भएको उनको भनाई छ ।
    प्रवक्ता अधिकारीले बैंक स्थापना हुँदा तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेर जबराले श्री ५ को कृपापूर्ण अनुमतिमा राष्ट्रको बृहत्तर हितमा हुन लागेको यो बैंक स्थापनाको काम आफ्ना लागि स्मरणिर गर्वको क्षण भएको भन्दै सम्बोधन गरेको दस्तावेजमा उल्लेख छ ।
    दस्तावेजमा उल्लेख भए अनुसार उनले भनेका छन्, ‘बैंक खोल्न नसकिएको यस समयमा राष्ट्रको आवश्यकता पुरा गर्न स्थापित यस बैंकले धनी र गरिब जनतालाई सेवा प्रदान गर्ने र राष्ट्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छु ।’
    हाल बैंककाे पूँजी १४ अर्ब ४० कराेड ५९ लाख रुपैयाँ रहेकाे छ ।
    नेपाल बैंकको नजिर
    नेपाली बैंकिङ क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण छाप बसालेको नेपाल बैंकले केही महत्वपूर्ण काम पनि गरेको छ । बैंक भनेको थाहा नभएका आम सर्वसाधारणहरुलाई बैंकिङ सिकाउनेदेखि भारतीय मुद्रा विस्थापन गर्नसम्म भूमीका खेलेको नेपाल बैंक अहिले पनि संस्थागत सामाजिक उत्तरदायित्वमा अगाडि नै छ ।
    स्थापनाको १९ वर्षसम्म राष्ट्रको केन्द्रिय बैंक समेतको कार्य गर्दै नियामक निकायको भूमिका निभाउँदै आएको नेपाल बैंक अहिले एक वाणिज्य बैंकका रुपमा काम गरिरहेको छ ।
    वि.स २०२२ सालसम्म नेपालमा एकल भूमिकामा रहेको नेपाल बैंकले नेपालभर बैंकिङ सेवा विस्तार गर्न, भारतीयमुद्राको प्रचलन हटाउन, अन्तर्राष्ट्रिय व्यापार/कारोबार अभिवृद्धि गर्न अहम भूमिका खेलेको प्रवक्ता अधिकारीको भनाई छ ।

    उनका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको स्थापना भएपछि देशभर बैंकिङ सञ्जाल स्थापनागर्ने तत्कालीन सरकारको नीतिबमोजिम नेपाल बैंकले पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि महत्वपूर्ण काम गरेको बताउँछन् ।
    ‘ऋण साहुबाट भन्दा पनि बैंकबाट लिनुपर्छ भन्ने पाठ नेपाल बैंकले नै सिकाएको हो, सुरुवाती दिनमा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैयाँ, पैसा घडा तथा बाकसमा हैन बैंकमा राख्नुपर्ने अवस्था थियो, अहिले हामी डिजिटल बैंकिङ मार्फत कारोबार र प्रतिस्पर्धा गरिरहेका छौं,’ अधिकारीले विकासन्युजसँग भने ।
    उनका अनुसार नेपाल बैंक सरकारी लगानीको बैंक भएपनि अहिले निजी लगानीका बैंकहरुसँग प्रतिस्पर्धा गरेर अगाडि बढिरहेको छ । यस्तै, उनले नेपाली बैंकिङ इतिहासमा नेपाल बैंकले एक एजिर राखेको बताए ।
    ‘विभिन्न समयमा हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम गर्ने, महिला सशक्तीकरण सम्वन्धि कार्यक्रम गर्ने, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम ल्याउने, असहाय बालबालिकाहरूलाई सहयोग गर्नेदेखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाको समयमा पनि धेरै सहयोग गर्यौं, विभिन्न संघ–संस्थाहरुलाई आर्थिक सहयोग पनि गर्यौं, उनले भने ।
    बैंकमा आइलागेको त्यो संकट
    उसो त नेपालका धेरै सरकारी लगानी रहेका संस्थानहरु अहिले पनि नोक्सानमा छन् । सरकारी लगानी रहेका धेरै संस्थाहरुलाई निजिकरण गर्नु पर्ने माग पनि नउठेको होइन । तर, जसोतसो ती संस्थाहरु चलिरहेका छन् । वर्षेनी करोडौंको घाटा व्यहोरेर सरकार पनि ती संस्थाहरु प्रति उदार बनिरहेको छ ।
    यस्तै, संकट एकताका नेपाल बैंकमा पनि आइलाग्यो । वि.स २०४६/४७ को राजनैतिक परिवर्तन पश्चातनिर्वाचित नेपाली काँग्रेस सरकारले अबलम्वन गरेको नीजिकरण नीतिले निजीक्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरु स्थापनागर्न प्रोत्साहन मिल्यो ।
    परिणामस्वरुप मुलुकमा दर्जनौ वाणिज्य बैंकहरुको स्थापना भयो । बैंकिङ बजार निकै प्रतिस्पर्धामा होमियो ।धेरै पुँजी, नयाँ शैली र पृथक जोश जाँगरका साथ स्थापना भएर बजारमा प्रतिस्पर्धामा उत्रिका बैंकहरुकाबीच नेपाल बैंकको केही चलेन ।
    एकातिर बढ्दो प्रतिस्पर्धा र अर्कोतर्फ देशमा राजनितिक अस्थिरताका कारणले नेपाल बैंकको बजार क्रमशः संकुचित हुन थाल्यो ।
    नेपाल बैंकका कर्मचारीहरु पुरानै तरिकाबाट सञ्चालित हुनु, परिर्वतनलाई स्वीकार गरी सोही बमोजिम आफुहरुलाई परिवर्तन गर्न नसक्नु, नयाँ–नयाँ प्रोडक्टहरु बजारमा ल्याउन नसक्नु, नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ–नयाँ नीति निर्देशनहरु अंगिकार गर्न कठिनाई हुँदै जानु, अधिक राजनितिक हस्तक्षेप हुनु, कर्जा लगानी गर्दा भएका बदमासीपूर्ण निर्णयहरु र तत्कालीन समयमा माओवादीबाट भएको जनयुद्ध लगायत विविध कारणले नेपाल बैंकको बिजनेस घट्दै गयो । र, परिणाम स्वरुप बैंक थप संकटमा जान थाल्यो ।
    बैंकका अनुसार आर्थिक वर्ष २०५७/५८ मा नेपाल बैंक ठूलो आर्थिक जोखिममा पर्यो । बैंकका विभिन्न शाखाहरुमा ठूलो नोक्सानी भयो । आर्थिक वर्ष २०५८/५९ मा बैंकको जम्मा निक्षेप ३४ अर्ब, कर्जा १९ अर्ब, लगानी ७ अर्ब, खराब कर्जा करिब ५७ प्रतिशत, खुद सम्पत्ति करिब ९.५ अर्बले नकारात्मक हुन पुग्यो ।
    बैंकको वार्षिक घाटा करिब ३ अर्ब र करिब ९.९४ अर्बको नकारात्मक रिजर्ब एण्ड सरप्लस हुन पुग्यो । सो समयमा बैंकमा कुल ५ हजार ६ सय ५२ कर्मचारी थिए । बैंक नाजुक अवस्थामा पुगेपछि तत्कालीन सरकार बैंकबारे सोच्न बाध्य बन्यो ।
    अधिक कर्मचारी भएपछि नेपाल सरकारले कर्मचारी अवकासको सुविधा ल्यायो । त्यसपछि पुराना कर्मचारी बैंकबाट बाहिरिन थाले भने नयाँले स्थान पाउँदै गए ।
    बैंकका प्रवक्ता अधिकारीका अनुसार संकटमा रहेको नेपाल बैंक विघटन हुने अवस्थामा पुगेको थियो । सरकारले त्यसबेला बैंक विघटन गर्ने वा पूनरस‌ंरचना गरी चुस्त स्फूर्त एवंम प्रतिस्पर्धी बनाउने विकल्प मध्ये सरकारले दोस्राे विकल्प छनौट गर्यो । त्यसपछि विश्व बैंकबाट ऋण सहयोग समेत लिई वित्तीय क्षेत्र सुधार कार्यक्रम (आईसीसीएमटी) मार्फत नेपाल बैंकलाई सुधार गर्न सुरु गरियो ।
    यति मात्रै होइन यो घटनाभन्दा अगाडि अर्थात नेपाल बैंक स्थापना कालको दोस्रो वर्षदेखि नै पहिलो संकटको सामना गर्नु परेको थियो । त्यति बेला तत्कालिन इष्ट इन्डिया सरकारले सञ्चालनमा ल्याएको कम्पनी रुपैयाँको भाउ निरन्तर घट्दै जाँदा नेपाल बैंकले विनिमय गर्नै नसक्ने अवस्था सिर्जना भएको थियो । जबकी त्यो बेला नेपाल बैंकको मुख्य व्यवसाय नै विनिमय थियो ।
    नेपाल बैंकले भोगेको अर्को संकट भने प्रजातन्त्र स्थापना पछिको समय हो । राणा शासनको अन्त्यपछि सरकारमा राणाहरूको पहुँच गुमेसँगै अधिकांश सेयर हिस्सा राणा परिवारको भएको बैंकमा बैंक एकातिर लगानीकर्ता अर्कोतिरको जोखिमपूर्ण अवस्था पनि नेपाल बैंकका लागि संकटपूर्ण थियो । तत्कालिन नेपाल सरकारले ४० प्रतिशत रहेको आफ्नो सेयर हिस्सालाई बढाएर सेयर बेच्न चाहने सेयर खरिद गरेर सो संकट टारेको थियो ।
    २०५८ को संकट भने स्वेच्छिक अवकाशलागुगरी प्रविधिमैत्री नभएका र परिर्वतन अंगिकार गर्न नसक्ने कर्मचारीहरुको बर्हिगमन, खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रतिस्पर्धी र प्रविधिमैत्री कर्मचारीहरुको भर्ना, खराब कर्जाको असुलीमा जोड, बैंक संचालनका लागि विभिन्न निर्देशिकाहरु, म्यानुअलहरु लगायतको तर्जुमा, नयाँ प्रविधिको कम्प्युटराईजेशन तथा नयाँ बैंकिङ्ग सफ्टवेयरको प्रयोग लगायतका कार्यको थालनी गरेपछि मात्रै नेपाल बैंक अहिलेको अवस्थामा पुगेको हो ।
    यस्तो छ विगत १२ वर्षको नाफा
    आर्थिक वर्ष २०५८/५९ मा आर्थिक संकटमा पुगेको बैंक पछिल्ला वर्षहरुमा भने उल्लेख्य नाफा गर्दै आएको छ । नेपाल बैंकको विगत ११ वर्षको खुद नाफा हेर्ने हो भने अन्य वाणिज्य बैंकसँग निकै प्रतिस्पर्धा गरेको देखिन्छ ।
    बैंकले आर्थिक वर्ष २०६७/६८ मा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा आर्थिक वर्ष ०६८/६९ मा १७ करोड ६० लाख रुपैयाँ नाफा गरेको बैंकको वार्षिक प्रतिवेदनले देखाएको छ ।
    यस्तै, बैंकले आर्थिक वर्ष ०७६/७७ मा २ अर्ब ३३ करोड ३० लाख रुपैयाँ, अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ र गत आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब २६ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ ।

    यस्ताे छ लाभांश इतिहास
    दुई दशकभन्दा बढी समयसम्म लाभांश वितरण नगरेको बैंकले आर्थिक वर्ष २०७५/७६ देखि सेयरधनीमा लाभांश वितरण समेत गर्न थालिसकेको छ ।
    बैंकले २०७५/७६ मा सेयरधनीलाई १४ प्रतिशत बाेनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रदान गरेकाे थियाे भने २०७६/७७ मा १२ प्रतिशत बाेनस सेयर र ४ प्रतिशत नगद लाभांश प्रदान गरेकाे थियाे ।
    यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले सेयरधनीलाई १५ प्रतिशत बाेनस सेयर र १० प्रतिशत नगद लाभांश प्रदान गरेकाे थियाे । बैंकले आर्थिक वर्ष २०७८/२०७९ काे लाभांश भने घाेषणा गरिसकेकाे छैन ।
    वर्तमान अवस्था
    सेवाविस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भई बैंकले २२६ शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले शाखासँगै १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ ।
    बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । वि.स. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ ।
    प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ ।

    प्रतिकृया दिनुहोस्