काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते सम्पन्न भइ बीमा समितिबाट २०७९ असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।
अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडाैंमा रहनेछ ।
मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।
नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।
सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको सेयर सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर १ सेयर पाउनेछन् भने ज्योति लाईफका सेयरधनीले १ सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ ।
अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ ।
मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८/७९) को चौथो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब रुपैयाँ, कुल लगानी २३.७८ अर्ब रुपैयाँ, खुद नाफा ३७.३७ करोड रुपैयाँ र कुल बीमा शुल्क ८.८६ अर्ब रुपैयाँ हुनेछ ।