News Portal

  • राष्ट्रपतिबाट स्वीकृत बीमा ऐन ३१ दिनपछि मात्रै लागू हुने

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७९
    २४९ पटक
    २४ असोज, २०७९

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७५’ ३१ दिनपछि लागू हुने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त ऐन स्वीकृत भएको ३१ दिनपछि मात्रै लागू हुने बताएका हुन् ।
    ‘ऐन स्वीकृत भयो, अब ३१ दिनपछि लागू हुन्छ,’ उनले थपे- ‘यो ऐन अन्तर्गत नियमावली बन्न बाँकी छ, बनेपछि कार्यान्वयनमा आउँछ ।’
    प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपति भण्डारीसमक्ष पेश भएका विभिन्न तीन विधेयक एकैदिन प्रमाणिकरण भएका छन् । राष्ट्रपति भण्डारीले असोज २३ गते मात्रै बीमा विद्येयकसहित अन्य तीन विधेयक प्रमाणिकरण गरेकी हुन् ।
    यससँगै राष्ट्रपतिबाट स्वीकृत बीमा ऐनले अधिकांश विषय समेटेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।
    ‘ऐनले गरेको निर्देशन ऐन अन्तर्गत नै हुने छ । र, तोकिए बमोजिम भनिएका व्यवस्थाहरु नियमावलीले ताकिदिन्छ र सोही अनुसार कार्यान्वयनमा आउने छ,’ उनले भने ।
    यो ऐन लागू भएपछि बीमा समिति रहँदैन र बीमा कम्पनीको नियामक निकायको रुपमा बीमा प्राधिकरण स्थापना हुने छ । जसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भित्रै हुने छ र प्राधिकरणले नेपालभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्ने छ ।
    साथै, यो ऐन नेपाल राज्यभर र बीमकले नेपाल बाहिर जुनसकै ठाउँमा खोलेको शाखा कार्यालयको हकमा समेत लागू हुने छ ।
    यता बीमा विज्ञहरुले पनि बीमा ऐन लागू भएपछि बीमा प्राधिकरणको क्षेत्राधिकार फराकिलो भई प्राधिकरणलाई थप जिम्मेवार बनाउने बताउँछन् । साथै, एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने बीमा विज्ञ डा. रवीन्द्र घिमिरे बताउँछन् ।
    साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । त्यस्तै, यसले तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष समेत रहेका डा. घिमिरेको भनाई छ ।
    नयाँ बीमा ऐन लागू भएपछि धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ ।
    बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
    विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ ।
    साथै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ ।
    सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।

     

    प्रतिकृया दिनुहोस्