News Portal

  • दार्चुलाका अल्लो उद्यमीलाई मन्त्री बडुले हस्तान्तरण गरे प्रविधि

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
    ५८० पटक
    २२ साउन, २०७९

    दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ ।
    दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुको प्रवर्द्धन, उद्यमीहरुलाई प्रोत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएको बताए । उनले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यस्ता उद्योगलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताए ।
    ‘सरकारले घरेलु, साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण गरि देशका ७५३ वटै स्थानीय तहमा ओैद्योगिक ग्राम बनाउने नीति लिएको छ,’ मन्त्री बडूले भने, ‘स्थानीय उद्यमी र उत्पादनको संरक्षण एंव विकासका लागि तीनै तहका सरकारले आवश्यक समन्वय र सहकार्य गरि यसको उपयोग गर्न जरुरी छ ।’
    मन्त्री बडूले ओैद्योगिक ग्राम बनाउन सरकारले तीन करोड रुपैयाँ लगानी दिने गरेकोले जनताको जिवनस्तर उकास्नका लागि दार्चुलाका स्थानीय तहलाई यसबाट लाभ लिन आग्रह गरे । मेशिन पाएपछि अल्लो व्यवसायीहरुले पनि व्यवसायको विकास, स्तरोन्नती र गुणस्तरीय सामान उत्पादन गर्न सहज हुने बताए ।
    अल्लो उद्यमी गणेश दत्त जोशीले २०४४ सालदेखि आवश्यक प्रविधिका लागि सरकारलाई आग्रह गरे पनि मन्त्री बडूको पहलमा अहिले अल्लो प्रशोधन मेसिन प्राप्त गरेकोमा खुशी व्यक्त गरे ।

    ‘२०४४ सालदेखिको सपना आज पूरा भयो । अहिलेसम्म प्रायः सबै प्रधानमन्त्री, मन्त्रीज्यूलाई माग गरे तर आश्वासनबाहेक केही पाएन,’ उनले भने, ‘आज विकासप्रेमी नेता उद्योग मन्त्री भएपछि मैले मेसिन पनि पाए । अब मेरो भावी पुस्ताले यसबाट भरपूर लाभ लिनेछ ।’
    मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका एकरएक जना गरि ३ जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस्