News Portal

  • पुँजीकोषमा वाणिज्य बैंकभन्दा सहकारी बैंक बलियो छ: बद्री गुरागाईं

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७९
    ८५१ पटक
    १९ साउन, २०७९

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले राष्ट्रिय सहकारी बैंक मजबुद र बलियो बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसमा आफ्नो धारणा राख्दै उनले सदस्यहरुको सहजता, उत्पादन क्षेत्रको विकाससँगै उत्कृष्ट वित्तीय सेवा दिनमा सहकारी बैंक एक अब्बल संस्थाका रुपमा देखिएको बताएका हुन् ।
    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम पुँजी कोष ८ प्रतिशत तोकेको बताउँदै उनले सहकारी बैंकको १३ प्रतिशतभन्दा बढी रहेको बताए । उनका अनुसार राष्ट्रिय सहकारी बैंकले कर्जा लगानी पनि संयमित भएर गरिरहेको छ । यस्तै, उनले बैंकले सेयरधनीलाई लाभांश पनि बढाउँदै लगेको धारणा राखे । ‘हामी विभिन्न सूचकमा बलियो बन्दै गएका छौं, २० वर्षको यात्रा आफैमा गौरवमय क्षण हो, हामीले सदस्यहरुको क्षमता अभिवृद्धसँगै वित्तीय सेवामा मजबुद बन्दै गएका छौं, लाभांश पनि १५ प्रतिशत वितरण गर्न सक्षम भइसकेका छौं,’ उनले भने । यस्तै, उनले बैंकले बैशाखसम्म ५० अर्ब ६८ करोड बचत गरेकोमा कुल ३७ अर्ब उत्पादन क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको बताए । उनले १९.४९ प्रतिशत कर्जा कृषिमै लगानी भएको बताए ।
    अन्तर्राष्ट्रिय सहकारीसँग पनि सहकार्य भइरहेको बताउँदै उनले सदस्यलाई तालिम शिक्षा, सहकारीको स्तर मापनसँगै सहकारीमा प्रविधिको विकास र प्रयोगका लागि बैंकले महत्वपूर्ण काम गरिरहेको र अझै गर्दै जाने धारणा राखे ।
    ‘हामी नविनतम् सूचना प्रविधिमा आधारित एटीएम कार्ड वितरण गर्दैछौ, अब सो कार्डमार्फत् रियल टाइममा पनि पैसा निकाल्न सकिन्छ, दुर्गम ठाउँमा बसेको सहकारीले इ–बैंकिङ सर्भिस लियो भने पैसा राख्न र झिक्न सक्ने योजना पनि बनाइरहेका छौं, अब सहकारीका सेवा प्रविधिमैत्री हुनु पर्छ भन्ने हाम्रो अवधारणा हो,यसका लागि काम गरिरहेका छौं,’ उनले भने । यस्तै, उनले भेन्डरहरुसँग सहकार्य गरेर क्यूआरकोड वितरण गर्ने बताए । नेपाल सरकारले लागू गरेको कोपोमिसमा पनि सहकारीहरुको आवद्धतता बढाउनका लागि बैंकले पनि भूमीका खेलिरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्