News Portal

  • कहिले खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ५४४ पटक
    ६ साउन, २०७८

    काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा अधिकांश कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मर्जर तथा एक्विजिशनको प्रकृयामा गएका दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।
    जसमध्ये अधिकांश बीमा कम्पनीहरु रहेका छन् । १० वटा निर्जीवन र ८ वटा जीवन बीमा गरी कूल १८ वटा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । यी सबै कम्पनीले मर्जरमा जानको लागि प्रकृया शुरु गरेसँगै दोश्रो बजारमा कारोबार नभएको हो ।
    जसमध्ये दुई हुन् हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीको गत बैशाख २३ गतेदेखि सेयर कारोबार रोक्का छ । बैशाख २२ गते दुई इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति भएसँगै नेप्सेले भोलिपल्टदेखि सेयर कारोबार रोकिदिएको हो ।
    हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।
    सामान्यतः मर्जर तथा एक्विजिसनमा गएका कम्पनीबीच एकीकृत कारोबार शुरु भएपछि दोश्रो बजारमा रोक्का भएको सेयर कारोबार फुकुवा गराउने व्यवस्था छ । हिमालयन एभरेष्टको नामबाट एकीकृत कारोबार शुरु भएको करिब एक साता हुन लागेको छ । वित्तीय कारोबार शुरु भएपनि कम्पनीको सेयर कारोबार भने अझै खुला भएको छैन ।
    यससँगै सेयरधनीले यी कम्पनीको सेयर खरिद बिक्री गर्न पाएका छैनन् । अर्थात यी कम्पनीका सेयरधनीको सम्पत्ति विगत २ महिनाअघिदेखि बन्धक भएको छ ।
    यद्पि एकीकृत कारोबार भएपछि सेयर कारोबार छिट्टै खुल्ने आशमा लगानीकर्ताहरु रहेका छन् । तर कम्पनीको सेयर कारोबार खुल्न अझै कम्तिमा एक दुई साता लाग्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रवक्ता धुव्र न्यौपानेले बताए ।
    ‘कम्पनीको सेयर कारोबार खुलाउनको लागि हामीले प्रकृया शुरु गरिसकेका छौं, अझै दुई हप्ता लाग्ला’ उनले विकासन्युजसँग भने ।
    उनका अनुसार दोश्रो बजारमा सेयर कारोबार खुलाउन इन्स्योरेन्सले दुईदिन अघि नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । अब बोर्डबाट स्वीकृत भएपछि नेप्से र सीडीएस एण्ड क्लियरिङमा पठाइने उपमहाप्रबन्धक समेत रहेका न्यौपानेले बताए ।
    ‘कानुनी प्रकृया लामो हुने भएकाले समय लाग्ने भएको हो, अब धितोपत्र बोर्डले जति छिटो दियो त्यति छिटो कारोबार खुल्छ,’ उनले थपे ।
    यता धितोपत्र बोर्डले पनि कम्पनीलाई स्वीकृति दिन केहि दिन लाग्ने बताएको छ । बोर्डका प्रवक्ता रुपेश केशीले इन्स्योरेन्सको पत्र पाइसकेको बताउँदै स्वीकृत दिन थप केहि दिन लाग्ने बताएका हुन् ।
    ‘कम्पनीहरुको निर्णयहरु लगायत विभिन्न फाइलहरु दर्ता गर्नुपर्छ, त्यसको लागि थप एक दुई दिन अझै लाग्छ,’ उनले भने ।
    यस्तो केशमा समान्यतयाः नेप्सेले पनि कम्पनीहरुको निवेदन पाएको भोलिपल्टदेखि सेयर कारोबार खुलाउने गरेको छ । नेप्सेका अनुसार कम्पनीहरुले दिएको निवेदन तथा विवरणहरु मापदण्ड अनुसारकै हुनुपर्ने हुन्छ । यदि मापदण्ड विपरितको विवरण भएमा सेयर कारोबार फुकुवा हुने समय थप केही दिनको लागि लम्बिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
    हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जर बीमा क्षेत्रमै ऐतिहासिक अर्थात पहिलो मर्जर हो । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यो मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।

    प्रतिकृया दिनुहोस्