श्याम कुमार बस्नेत
कार्यवाहक उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग, बाग्मती प्रदेश
बाग्मती प्रदेश मुलुकको स्रोतसाधनको उपलब्धता र मानवीय संशाधनको हिसाबले सम्पन्न प्रदेश भएको बाग्मती प्रदेशका नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतले बताउनुभएको छ । सेतोघर डट कम सँगको कुराकानीको क्रममा उहाँले बाग्मती प्रदेश संघीय नेपालको राजधानी प्रदेश समेत रहेको र आगामी दिनमा पारदर्शी रुपमा योजनावद्ध रुपमा अघी बढाउने समेत बताउनुभएको छ ।
प्रदेश सरकार प्रति जनताहरुले खासै काम गर्न नसकेको आरोप लागिरहँदा बस्नेतले भर्खर मात्रै प्रदेश सरकारले ठोस आकार पाएको र अब विकासका योजनाहरु निकै नै तीव्र रुपमा अघी बढ्ने बताउँदै योजनावद्ध रुपमा विकास कार्यहरु अघी बढिसकेको समेत बताउनुभएको छ ।
संघीयताको आवश्यकता बारे प्रष्ट पार्दै कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत भन्नुहुन्छ, ‘मुलुक संघीय संरचनामा गइसकेपछि नेपालका सबै स्थानीय तह र प्रदेशहरुले आफ्नोे विकास खाका आफैंले कोर्ने अवसर पाएका छन् । अहिले नेपालमा ३ तहका सरकारहरु छन् । संघीय सरकार निकै लामो इतिहास बोकेको केन्द्रीय सरकारकै परिवर्तित रुप हो । स्थानीय सरकारको संरचना पनि धेरै पहिले नै बनिसकेको हो । पछिल्लो व्यवस्था अनुसार नेपालमा प्रादेशिक सरकार थप भएको छ । यो नयाँ व्यवस्था हो । अहिले सम्म पनि यसको औचित्यता सम्बन्धमा प्रश्नहरु उठ्दै आएका छन् । अहिले पनि अधिकांश सर्वसाधारण मानिसहरुले नेपालमा प्रदेश सरकारको काम, कर्तव्य र यसको कार्य क्षेत्र बारे प्रश्न उठाइरहेका छन् । प्रदेश सरकारबाट सम्पादन हुने कामहरु प्रभावकारी हुन सकेनन् भन्ने गुनासो रहँदै आएको पाइन्छ । त्यस किसिमको चासो हुन स्वभाविक नै हो । यद्यपि उहाँहरुले यो पनि बुझ्नुपर्छ कि प्रदेश सरकारको इतिहास कति लामो छ ? यसबीचमा भएका कामहरु के–के छन् ? सबैलाई जानकारी नै छ ।’
प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेत सँग बाग्मती प्रदेशका सम्भावना, आगामी योजना र विकासक्रम सम्बन्धमा कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
प्रदेश सरकारको महत्वः
प्रदेश सरकार नेपालको लागि बिल्कुलै नयाँ अभ्यास हो । शुरुमा यसको परिकल्पना मात्र गरिएको थियो । जनताबाट निर्वाचित प्रतिनिधिहरुले प्रदेश सरकारलाई कसरी यथार्य रुप दिन सकिन्छ भनेर निकै मेहनत गर्नुपर्यो । अहिले यसले एउटा आकार पाएको छ । काम, कर्तव्य र कार्यविधिहरु प्रष्ट भएका छन् । साथै प्रदेश सरकारले जिम्मेवार तवरले आफ्ना कामहरुलाई गति समेत दिइरहेको छ । यसका आफ्नै दायराहरु छन् । नेपालको समुचित र सन्तुलित विकासको लागि अबका दिनमा प्रादेशिक सरकारको भूमिका निकै महत्वपूर्ण समेत रहनेछ ।
राजधानी शहर समेत रहेको बाग्मती प्रदेशः
बाग्मती प्रदेश नेपालका ७ ओटै प्रदेश मध्ये सबैभन्दा बढी महत्वपूर्ण प्रदेश समेत हो । राजधानी प्रदेश समेत भएको कारण बाग्मती प्रदेशको भूमिका विशेष महत्वपूर्ण रहने गर्छ । यस प्रदेशले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्व समेत प्रवल रहने गर्छ ।अहिले सम्म पनि नेपालका सबैजसो महत्वपूर्ण सरकारी निकायहरु, कुटनीतिक नियोगहरु, दातृ निकायहरु, विश्वविद्यालय, ठूला अस्पताल लगायत सबै यही प्रदेशमा नै अवस्थित छन् । यसकारण यस प्रदेशले निकै ठूलो महत्व राख्ने गर्छ । बाग्मती प्रदेशले व्यवस्थित विकासको लागि अघि सारेका योजनाहरु नेपालका अन्य प्रदेशहरुको लागि निकै अनुकरणीय समेत हुने गर्दछन् । समग्र मुलुकको विकासलाई गति दिनको लागि यी प्रयाशहरु आगामी दिनको लागि निकै नै महत्वपूर्ण समेत हुनेछन् । सोहीकारण प्रदेश सरकार गठन पश्चात् बाग्मती प्रदेशले निकै सक्रियतापूर्वक आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
स्रोतसाधन र संस्कृतिले सम्पन्न प्रदेशः
बाग्मती प्रदेश आफैंमा पनि प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेको प्रदेश समेत हो । नेपालका अधिकांश शिक्षित र क्षमतावान् जनशक्ति समेत यसै प्रदेशमा छन् । यस्तो महत्वपूर्ण प्रदेशका विकास योजनाहरुलाई अबका दिनमा कसरी अघी बढाउने भन्ने सम्बन्धमा नीति तथा योजना र ऐनहरु तयार गरिइसकिएको छ ।
प्रदेश सरकारका अबका विकास प्राथमिकताहरुः
हामीले यस प्रदेशको समग्र विकासको लागि मुख्यतः ६ ओटा पिलरहरु तयार गरी सोहीबमोजिम विकास योजना अघी बढाउँदैछौं । विकासका पूर्वाधारहरु तयार गर्ने, व्यवसायलाई आत्मनिर्भर बनाउने, कृषिको औद्योगिकीकरण गर्ने, साना र घरले उद्योगहरुको प्रवद्र्धन र व्यावसायीकरण गर्ने, कृषि क्षेत्रलाई व्यावसायिकरण र आत्मनिर्भर बनाउँदै लैजाने लगायतका कुराहरु प्रदेश सरकारको प्राथमिकतामा छन् ।
यसको अलावा सामाजिक, आर्थिक विकास गर्ने सन्दर्भमा हामीले विशेष योजना सहित समाजमा रहेका विविध पक्षहरुलाई सम्बोधन गर्ने गरी कामहरु गर्नुपर्ने जरुरी समेत छ । जसबाट सुशासन र समृद्धिको आधार तयार हुन सकोस् । यसलाई गुणस्तरीय र प्रविधियुक्त बनाउँदै कानुनी राज्यको अनुभूत गराउने कार्य समेत निकै महत्वपूर्ण रहन्छ । सोही बमोजिम यस प्रदेशलाई अगाडि बढाउने कार्यमा हामी निरन्तर खटिइरहेका छौं ।
औद्योगिकीकरणमा विशेष जोडः
विनियोजित बजेटलाई उद्योग र उद्यमी विकासको लागि परिचालन गर्दै हाम्रा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ । उद्योग अन्तरगत ठूला उद्योगलाई मात्र नभई साना, घरेलु र मझौला उद्योगलाई समेत प्रवद्र्धन गरी स्थानीयहरुको जीविकोपार्जन सुधार गर्न र उनीहरुको अवस्थालाई माथि उठाउनमा निकै महत्वपूर्ण सहयोग पुग्न सक्छ । यसको लागि प्रादेशिक सरकारले विशेष नीति अवलम्बन गर्नु जरुरी छ । यसरी विकासका पूर्वाधारहरुलाई अघी बढाउन सकेमात्र बाग्मती प्रदेश एउटा सुखी, समृद्ध र सन्तुलित प्रदेशको रुपमा विकास हुन सक्छ । समाजवाद उन्मुख प्रदेश बन्न सक्छ ।
सोहीकारण अहिले बाग्मती प्रदेश दीर्घकालिन सोच सहित अघी बढिरहेको छ ।
संघीय सरकारको लक्ष्य पूरा गर्न प्रतिवद्धः
संघीय सरकारले लिएको लक्ष्य समृद्ध नेपाल निर्माणको लक्ष्य हो । उक्त लक्ष्य पूरा गर्न प्रदेश सरकारको भूमिका निकै नै महत्वपूर्ण हुने गर्छ । सोहीकारण बाग्मती प्रदेश मात्र नभई नेपालका सबै प्रदेश र स्थानीय सरकारहरुले त्यस किसिमको आफ्नो दायरामा रही आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नु जरुरी छ ।
अबको आवश्यकताः
गुणस्तर र प्रविधियुक्त विकास कार्य हाम्रा अबका आवश्यकताहरु हुन् । यसको लागि सुशासनयुक्त कानुनी राज्य स्थापना गर्नु पनि त्यत्ति नै महत्वपूर्ण हुने गर्छ ।
कसरी हासिल गर्न सकिएला त यी लक्ष्यहरुः
बाग्मती प्रदेशको महत्व नेपालका अन्य प्रदेशहरु भन्दा माथि छ । यसको आफैंमा विशेष गौरव छ । उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय संशाधन, हाम्रो सोच र ज्ञान, सीप एवं प्रविधिको संयोजनबाट मात्र हामीले चाहेको त्यो उपलब्धि हासिल गर्न सकिन्छ ।
नेपाल आफैंमा तपोभूमी, योगभूमी र ज्ञानभूमि समेत हो । यस किसिमको विशेष महत्व बोकेको यस प्रदेशका यी विशेषताहरुलाई अबलम्बन गर्दै हाम्रो विकास कार्य अघी बढाउन सकेमात्र नेपाललाई हामीले छिट्टै समृद्ध बनाउन सक्छौं । विकासको गतिमा अघी बढाउन सकिन्छ ।
समग्र नेपालको विकास गतिलाई चलायमान बनाई राज्यले लिएको ‘समृद्ध नेपाल ः सुख नेपाली’को योजनालाई सफल बनाउन हामी सोहीबमोजिम सामुहिक प्रतिवद्धता सहित अघी बढ्नु जरुरी छ । हाम्रो लक्ष्य समृद्ध नेपालको हो । यसको लागि हाम्रो देशका सबै प्रदेश, स्थानीय तह र संघीय सरकारले विशेष योजना सहित हाम्रा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ ।
अन्त्यमा,
हामीले अबको ५ बर्ष भित्रमा यस प्रदेशलाई विशेष योजना सहित नमुना प्रदेश बनाउन विशेष योजना सहित कामहरु अघी बढाइसकेका छौं । हाम्रा योजनाहरुलाई साकार बनाउन सबै पक्षहरुको सहयोग आवश्यक रहन्छ । यसको लागि अब हामी दिगो विकास अवधारणा सहित हाम्रा विकास गतिविधिहरुलाई अघी बढाउनु जरुरी रहन्छ । बाग्मती प्रदेश सोहीबमोजिम विशेष नीति तथा योजना सहित पारदर्शी रुपमा आफ्ना योजनाहरु अघी बढाउने कार्यमा निरन्तर लागिरहेको छ । भ्रष्टाचारलाई न्यूनीकरण गर्दै शून्य सहनशिलता सहित पारदर्शी रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न यो प्रदेश विशेष प्रतिवद्ध छ ।
www.setoghar.com मा प्रकाशित