काठमाडौं । सोमबारको बजारमा सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । कूल २३० वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी सानिमा बैंकको सेयर कारोबार भएको हो ।
बैंकको एकैदिन ९ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता २८० रुपैयाँमा किनबेच भएको छ ।
सोमबारको बजारमा कूल ९९ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा बढी हो । गत शुक्रबारको बजारमा ८९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयरक कारोबार भएको थियो ।
बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो ।
घट्दो बजारमा पनि दुई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले बढेर क्रमशः २९८.३० र ३२०.७० रुपैयाँ पुगेको छ ।
घटेको बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । संस्थाको सेयर मूल्य ५.४० प्रतिशतले घटेर प्रतिकित्ता १०४७.२० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।