काठमाडौं । प्रभु बैंक लिमिटेडबाट प्रभु ग्रुपले आफ्नो सेयर स्वामित्व घटाउँदै आइरहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा प्रभु ग्रुपको नाममा २८ लाख ५१ हजार ९७८ कित्ता सेयर रहेको थियो ।
गत आव ०८०/०८१ मा आइपुग्दा बैंकमा ग्रुपको नाममा २३ लाख ५४ हजार कित्ता सेयर रहेको छ । अघिल्लो आवमा बैंकमा ग्रुपको स्वामित्व १.२१ प्रतिशत रहेको थियो भने गत आवमा ग्रुपको स्वामित्व ०.९९ प्रतिशतमा सिमित भएको छ ।
यता, एसियन लाइफ इन्स्योरेन्सले भने आफ्नो स्वामित्व बढाउँदै लगेको छ । अघिल्लो आवमा एसियन लाइफको नाममा ८० लाख ३७ हजार ९२२ कित्ता सेयर थियो । गत आवमा आइपुग्दा इन्स्योरेन्सको नाममा १ करोड ७५ लाख ९ हजार कित्ता सेयर रहेको छ ।
इन्स्योरेन्सले ३.४१ प्रतिशतबाट आफ्नो स्वामित्व वृद्धि गरेर ४.९९ प्रतिशत पुराएको छ । एसियन लाइफ सो बैंकको सबैभन्दा ठुलो सेयरधनी हो ।
दोस्रो ठुलो सेयरधनीमा गौरभ अग्रवाल रहेका छन् । उनको नाममा ६३ लाख ७९ हजार कित्ता सेयर तथा २.७१ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, नागरिक लगानी कोषको नाममा ५९ लाख ५१ हजार कित्ता सेयर रहेको छ । बैंकमा नागरिक लगानी कोषको २.५३ प्रतिशत स्वामित्व रहेहो छ ।
यसैगरी, चौथो ठुलो सेयरधनीमा प्रभु ग्रुप रहेको छ भने पाँचौ ठुलो सेयरधनीम मिजास भट्टचन रहेका छन् । मिजासको ०.८० प्रतिशत स्वामित्व रहेको छ ।
सुदिप आचार्यको र अम्बिका शर्मा लामिछानेको स्वामित्व समान ०.६० प्रतिशत रहँदा ज्यानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरुप गुरुङको समान ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्टको ०.५२, शिवम् सिमेन्टको ०.५१ र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।