News Portal

  • एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने समय थपियो

    आर्थीकसंसार संवाददाता२५ वैशाख, २०७९
    ९४७ पटक
    २५ वैशाख, २०७९

    काठमाडौं । एनएमबि बैंकले बैशाख २१ गतेदेखि निष्काशन गरेको १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । अब जेठ ४ गतेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ । ईच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
    बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३ ९४’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो। बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ।

    जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
    ऋणपत्र निष्काशन गर्न लागेको बैंकलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
    ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिकृया दिनुहोस्