News Portal

  • युनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७९
    ६८८ पटक
    २३ वैशाख, २०७९

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६/७७ को बार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
    सो साधारणसभाले कम्पनीको नयाँ सञ्चालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, संदीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल, सीमा गोल्छा र सर्वसाधारण समूहतर्फ सीताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित सञ्चालकहरुको आजै बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।
    यसैगरी सो साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ति सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति भएको विषयलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्ता पुँजी पुर्याउन अन्य जीवन बीमा कम्पनीबीच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मूल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
    उक्त बार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीको कामकारबाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहनाअनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताउनु भयो । यसैगरी सञ्चालक संदीपकुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनु भयो । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पुर्याउने जानकारी गराउनु भयो ।
    सञ्चालक समितिको अध्यक्ष शुलभ अग्रवालको अध्यक्षता भएको सभाको सञ्चालन कम्पनी सचिव ईश्वरकुमार सेडाईले गर्नुभएको थियो भने कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल, कम्पनीको लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुखलगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्