News Portal

  • आयातमा रोक राष्ट्र बैंकको सल्लाहमा नै भएको हो, कार्यान्वयन गरौं : गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७९
    ८६५ पटक
    १४ वैशाख, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सल्लाहमा नै सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आयातमा लगाएको रोक राष्ट्र बैंकको पनि सल्लाह रहेको बताएका हुन् ।

    उनले सरकारको नीति कार्यान्वयन गर्न आग्रह गरे । गभर्नर अधिकारीले कोभिडको असर कम भएसँगै अर्थतन्त्र सुधारको अवस्थामा रहेको पनि बताएका छन् ।  कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले पनि आर्थिक गतिविधि नरोकिएको उनको भनाइ छ ।
    ‘कोभिड–१९ को संक्रमण अझै केही मात्रामा कायमै रहेको छ, संक्रमणको थप लहरको सम्भावना पनि छ, तथापि अधिकांश मानिसले कोभिड–१९ विरूद्धको खोप लगाइसकेको हुँदा आर्थिक गतिविधि पुनरूत्थानको क्रममा नै रहने देखिन्छ, आर्थिक पुनरूत्थानको क्रममा कर्जा प्रवाह र आयात बढ्न गई शोधनान्तर घाटा बढ्दै जाँदा विदेशी विनिमय सञ्चितिमा चाप परेको स्थिति छ जुन अझै केही समय कायम रहन सक्छ, यसैलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिति पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको छ,’ उनले भने ।
    उनले बाह्य क्षेत्रको अवस्था हेरी यसको स्थायित्वको लागि आगामी दिनमा थप उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको उनले बताए ।
    साथै रेमिट्यान्समा केही सहुलियत दिँदा सहज हुने र मुद्रास्फिति अनुमान रिपोर्ट अब छिटै सार्वजिक गरिने गर्भनर अधिकारीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्