News Portal

  • अनुकूल समयमा मनोनयन दर्ता गर्न आयोगको अपिल

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०७९
    ६८१ पटक
    १० वैशाख, २०७९

    काठमाडौं । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
    विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकाले आयोगको भनाइ छ । यसले निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ ।
    कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता कार्यलाई सु–व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग पुर्याउन हुन तथा कानुनबमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कहिँकतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’

    प्रतिकृया दिनुहोस्