काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । तोकिएको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि कम्पनीको हकप्रद सेयर जारी गर्ने भएको हो ।
बीमा समितिबाट जारी भएको पुँजी वृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीले गरेको उक्त प्रस्ताव चैत ३० गते सम्पन्न इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले पारित गरेको हो । सभाले उक्त प्रस्ताव बहुमतले पारित गरि सोहि अनुसार कम्पनीको पुँजी वृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
साथै, उक्त सभाले प्रभु इन्स्योरेन्सको प्रस्तावित ११.५८ प्रतिशत लाभांश पारित भएको छ । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर बापत ०.५८ प्रतिशत नगद लाभांश पाउने छन् ।
बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरु बि.सं.२०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ/नयाँ भेरियन्टको असर, तत्पश्चात वित्तीय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने बिदेशी राष्ट्रहरुबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताउँदै सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र रहेको बताइन् । साथै, कम्पनी भित्रको शुसाशन र सहभागितामूलक पारदर्शी निर्णय प्रकृयाहरुले सञ्चालक समिति र व्यवस्थापन बीचमा झन् प्रगाढता बढेको उनले बताइन् ।
बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाकाबीच कम्पनीले ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा विशेष जोड दिएको उनले बताइन् ।
वार्षिक साधारण सभाबाट पारित बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।