News Portal

  • युनिभर्सल पावर कम्पनीको नाफा ५ करोडभन्दा बढी

    आर्थिकसंसार संवाददाता१९ भदौ, २०७७
    ८२२ पटक
    १९ भदौ, २०७७

    काठमाडौं । हालसम्म विद्युत उत्पादन सुरु नै नगरेको युनिभर्सल पावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले भदौ १९ गते सार्वजनिक गरेको उक्त विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशत बढी नाफा गरेको हो । अघिल्लो वर्ष उक्त अवधिसम्म कम्पनीले २ करोड ८८ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
    युनिभर्सल पावर कम्पनीले दोलखा जिल्लाको तल्लो खारे खोला जलविद्युत आयोजनाबाट ११ मेगावाट क्षमताको निर्माण भइरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले यो वाहेक अन्य आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ । माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता समेत गरिसकेको बताएको छ ।
    अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको अन्य आम्दानी बढेको र खर्च घटेको कारण खुद नाफा बढेको हो । अघिल्लो वर्ष ४ करोड ५६ लाख ९६ हजार रुपैयाँ अन्य आम्दानी गरेको यस कम्पनीले गत वर्ष यो शीर्षकमा ८ करोड ३१ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस कम्पनीले गत वर्ष १४ करोड ४२ लाख ३० हजार रुपैयाँ बराबरको शेयरमा लगानी गरेको छ भने मुद्दती निक्षेपमा ९१ करोड लगानी गरेको छ । यीनै लगानीबाट प्राप्त आम्दानीले कम्पनीको नाफा बृद्धि भएको हो ।
    अघिल्लो वर्ष ७२ लाख ४४ हजार रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष ६९ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव ७२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०४ दशमलव ८३ रुपैयाँ कम्पनीले उल्लेख बताएको छ ।

    प्रतिकृया दिनुहोस्