काठमाडौं । अब नेपालमा पनि ‘रुपे’ डिजिटल कार्डको सञ्चालन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ‘रुपे’ डिजिटल कार्डको नेपालमा शुभारम्भ भएसँगै अब नेपालमा पनि रुपे डिजिटल कार्डको प्रयोग गर्न पाइनेछ ।
शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा सो कार्डको शुभारम्भ गरेका हुन् । सो कार्ड भारत सरकारले प्रचलनमा ल्याएको हो । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको शुभारम्भ गरेका हुन् । अब ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ।
संयुक्त प्रेस पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो कार्ड फाइनान्सियल कनेक्टिभिटीमा नयाँ अध्याय भएको बताए । नेपालमा आर्थिक विकासका लागि यो कार्डले महत्वपूर्ण काम गर्ने उनको भनाई छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको पनि बताएका छन् । उनले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।