काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिनसम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्रगतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो ।
उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेलपश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भीम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे ।
१५० सीसीअन्तर्गत १५० देखि १८० सीसीसम्म र २५० सीसीअन्तर्गत २०० देखि २२० सीसीसम्मका बाइक राइडर सहभागी थिए । १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए ।
विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।
सो प्रतियोगिताको सह–प्रायोजक कवच राइडिङ गियर रहेको थियो भने अफिसियल पार्टनर डर्ट टेम्पल रहेको थियो । त्यसैगरी लुब्रिकेन्ट पार्टनर भिडोल लुब्रिकेन्ट, टेक्निकल पार्टनर द इन्जिन्स, पर्फमेन्स हाउस र मोटो टेक नेपाल रहेका थिए । मेडिकल पार्टनर धुलिखेल हस्पिटल र नेपाल रेडक्रस सोसाइटी थिए ।
मिडिया पार्टनरमा अटो नेपाल र अटोमोबाइल म्यागजिनका साथै नेपाल अटो डटकम रहेका थिए भने क्यास्ट्रोल, लिक्विमोली, पेट्रोनस, गल्फ र रेप्सोल लुब्रिकेन्टको समेत सहयोग रहेको थियो । बेनेली बाइक, इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालि, हेल्मेट र विभिन्न पार्ट्स आयातकर्ता पौडेल इन्टरप्राइजेज र जेनिस पेन्ट्सको समेत सहयोग रहेको थियो ।
लकडाउन पश्चात पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो ।
यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताइएको छ । आगामी दिनमा यस प्रकारका मोटर स्पोर्ट्स इभेन्ट अझै बढ्ने अपेक्षा गरेको छ ।