News Portal

  • प्रधानमन्त्री शेरबहादुर देउवाले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

    आर्थीकसंसार संवाददाता१० चैत, २०७८
    ६०५ पटक
    १० चैत, २०७८

    तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
    प्रधानमन्त्री देउवाले बिहीबार बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युतगृहको निरीक्षण गरेका हुन् । देउवाले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिए ।
    आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । श्रेष्ठका अनुसार हालसम्म २८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
    सिनो हाइड्रो कर्पोरेसन, चीनले आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण गरिरहेको छ । भूमिगत विद्युत‍्गृह खन्ने कार्य अन्तिम चरणमा पुगेको छ । एक हजार चार सय १८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब तीन सय मिटर मुख्य सुरुङ खनिएको छ ।
    केइसी इन्टरनेसनल, भारतले आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनको ९४ वटा टावरमध्ये ४१ वटाको जग निर्माण गरी २० वटा खडा गरिएको छ ।
    आयोजनाको निर्माण कार्य २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागतमध्ये एडीबीले १५ करोड, जाईकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकारले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्