News Portal

  • सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने

    आर्थीकसंसार संवाददाता १६ माघ, २०७८
    ८९७ पटक
    १६ माघ, २०७८
    काठमाडाैं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् ।
    कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ ।
    नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले सो कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले बताए । उनले कल सेन्टरमा गुनासो आउने बित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए ।
    मन्त्री श्रेष्ठले करिब एक महिनायता भिजिट भिसामा गएकाहलाई विचौलियाहरुले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुस गरिएको बताए ।
    ‘नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेको कल सेन्टरबाट त्यहाँ आउने गुनासो र त्यहाँ आउने कलहरुमा अलि प्रभावकारिता नभएको होकि भन्ने हाम्रो मन्त्रालयको सचिवज्यू, मलगायतको टिमको लागेपछि यो कल सेन्टर मन्त्रालय प्राङगणमै स्थापना गरिएको हो । यसले तत्काल वैदेशिक रोजगारमा गएकाहरुको गुनासको सम्बोधन गर्नेछ । विगत एक महिना यता भिजिट भिसामा जानेहरुलाई विचौलिया वा भनौन दलालहरुले अलपत्र पारेपछि पनि ती गुनासाहरुलाई तत्काल सम्बोधन गर्न पनि मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो,’ उनले भने ।
    ६ जना कर्मचारीहरुले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन । मन्त्रालयका सचिव एकनारायण अर्यालले बैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाई गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले सो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनिकरण गर्दै लैजाने विश्वास समेत व्यक्त गरे ।
    सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।
    प्रतिकृया दिनुहोस्