News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    १०९७ पटक
    १४ माघ, २०७८

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रक्रिया अघि बढेको हो ।
    सीईओ बज्राचार्य फागुनदेखि इन्स्योरेन्सबाट बाहिरिन लागेका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्षअघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको हो ।
    यससँगै फागुनबाट रिक्त हुन लागेका हिमालयन जनरल इन्स्योरेन्सको सीईओ पदमा शाहलाई नियुक्त गरिने स्रोतले जनाएको छ । शाह यसअघि नेपाल इन्स्योरेन्सको सीईओ थिए । आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी उनी गत साउन ९ गते नेपाल इन्स्योरेन्सबाट बाहिरिएका थिए ।
    उक्त कम्पनीबाट बिदा भएको ६ महिना अर्थात आफ्नो कुलिङ् पिरियड सकिएसँगै शाह हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुन लागेका स्रोतले जनाएको छ । कुशल व्यवसायिक व्यवस्थापक रहेका शाहको बीमा क्षेत्रमा लामो अनुभव रहेको छ । उनको नेतृत्वमा विभिन्न कम्पनीले राम्रो फड्को मारेको देखिन्छ ।
    नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि शाह एनएलजी इन्स्योरेन्सको सीईओ थिए । उनले त्यहाँ मात्रै ८ वर्ष अर्थात दुई कार्यकाल सफलतापूर्वक बिताएका थिए ।
    त्यसभन्दा अघि नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटमा पनि सीईओ पद सम्हालेका शाह नेपाल बीमक संघको पूर्वअध्यक्ष समेत हुन् । उनले बीमक संघको दुई पटकसम्म अध्यक्ष पद सम्हालेका हुन् ।
    वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले गोर्खा ब्रुअरी, सूर्य टोवाको, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका कार्यालयमा काम गरिसकेका छन् । उनी विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआईआरडीसीको अध्यक्ष समेत हुन् ।
    ऊर्जाशील शाह नेपाल व्यवस्थापन संघबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । ३५ वर्षभन्दा बढीको कार्यानुभव भएका शाह देशमा कार्यरत बीमा कम्पनीको साझा संघ नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष भैसकेका छन् ।

    प्रतिकृया दिनुहोस्